राष्ट्रिय जनमोर्चा बागलुङले भोली बागलुङ जिल्लाका ५२ स्थानमा एकैदिन एकैसाथ विरोध सभा गर्नेभएको छ । गणतन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र संघीयता खारेजीका लागि जिल्लाभर विरोध सभाको आयोजना गरिएको राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेलले बताउनुभयो ।
जनमोर्चाले देशमा ल्याउन थालिएको एमसीसीको विरोध जनाइरहेको छ । महंगी, अनियमिता, भ्रष्टाचार, विभेदकारी गतिविधीको भण्डाफोर लगाएत विषयमा ५२ स्थानमा एकैपटक विरोध सभाको आयोजना गरिएको सचिव पोखरेलले बताउनुभयो । जस अनुसार जिल्लामा तय गरिएका सबै स्थानमा वत्ता समेत तय गरिएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङको असोज १५ र १६ गते केन्द्रीय अध्यक्ष चित्र बहादुर के.सी.को उपस्थितिमा सम्पन्न भेलाले यस्तो कार्यक्रम तय गरिएको जिल्ला अध्यक्ष अमर थापाले बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा, जिल्ला समिति, बागलुङको तर्फबाट प्रस्तुत संगठनात्मक कार्ययोजना, आर्थिक कार्ययोजना र संघर्षका कार्यक्रम सम्बन्धि प्रस्ताव छलफल सहित पास गरिएको र सोही अनुसारको कार्यक्रममा पुरै जिल्ला जुटेको अध्यक्ष थापाले बताउनुभयो । यस्तै भेलाले पौष मसान्तसम्म टोल तहसम्म बैठक गरी आवश्यक निर्णय र सदस्यता वितरण गर्दै माघ १० गतेदेखि २९ गतेसम्म वडा स्तरका भेला गर्ने भेलाले निर्णय गरेको छ । फागुन १५ गतेभित्र पालिका तहका सम्मेलन गर्ने भएको छ । आगामी फागुन मसान्तसम्म सातौं बागलुङ जिल्ला सम्मेलन गर्ने ठेगान गरेको छ ।










