ढोरपाटनका बाढी प्रभावित बस्तीमा छैन दसैँको रौनक

ढोरपाटनका बाढी प्रभावित बस्तीमा छैन दसैँको रौनक
२०७८ असोज २७ गते बुधबार ०२:४५

सबै तिर दशैँ मनाउने रौनक छाएको भएपनि ढोरपाटनका बाढी पीडितहरुमा भने अहिले पनि चाडपर्वको रौनक छैन । उनीहरुलाई पीडा र ऋणको भारीले च्यापेको छ । गत वर्ष भदौँ १७ गते ढोरपाटनको भूजीखोलामा आएको बाढीले सयौँलाई घरबार विहीन बनाएको थियो ।...

सबै तिर दशैँ मनाउने रौनक छाएको भएपनि ढोरपाटनका बाढी पीडितहरुमा भने अहिले पनि चाडपर्वको रौनक छैन । उनीहरुलाई पीडा र ऋणको भारीले च्यापेको छ । गत वर्ष भदौँ १७ गते ढोरपाटनको भूजीखोलामा आएको बाढीले सयौँलाई घरबार विहीन बनाएको थियो । धरैले परिवारका सदस्य र आफन्त गुमाए । तीन दर्जन बढीको ज्यान गएको थियो ।

अप्रत्यासित घटनाका कारण अझै पनि भूजीखोलावासीको आँखा ओभाएका छैनन् । बाढीले घर सम्पत्ति बगाए पछि अहिले यहाँका सयौँ नागरिक घर टहरोकै व्यवस्थापन र विहान बेलुकीको छाक टार्नका लागि संघर्षरत छन् । उनीहरुको वर्ष दिन पुगे पछि अहिले बल्ल घर ठडिएको छ ।

घर त ठडियो तर ऋणले रातमा निद्रा नपर्ने बाढी पिडित कुलबहादुर विकले गुनासो गर्नुभयो । बाढीले विकको घर, जग्गा जमिन सहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र ४ वर्षकी नातिनी गरि चार जना सदस्य बगाएको थियो ।

आफन्त र भए भरको सम्पति गुमाएपछि विक्षिप्त बन्नुभएका कुलबहदुरका आँखा चाडपर्वमा गुमाएका परिवारका सदस्य सम्झिएर भिज्ने गर्छन् । यसबेला घर आँगनमा आएको चाडपर्वले बिर्सिन थालेको दर्दनाक पीडा बल्झाउने उहाँको भनाई छ ।

घर बनाउँदा लागेको ऋण तिर्न हम्मेहम्मे भएको भन्दै उहाँले सरकारले चाडबाडको समयमा थोरै भए पनि राहतको व्यवस्था गरिदिएको भए बालबच्चासँग चाडबाड मनाउन केहि सजिलो हुने बताउनुभयो । नगरपालिकाबाट घर बनाउन २ लाख रुपैयाँ सहयोग मिलेको थियो । सरकार र दाताको अनुदानमा आफूले थप चार लाख खर्च गरेर ६ लाखमा घर निर्माण सम्पन्न गरेको जानकारी दिनुभयोे ।

बाढीमा जीवन संगीनी सहित सबै सन्तान गुमाएका ढोरपाटन नगरपालिका वडा नम्बर ९ का निमप्रकाश विकले पनि कुलबहादुरको जस्तै पीडा सुनाउनुभयो । दिनमा ज्याला मजदुरी गरे विहान बेलुकीको छाक टार्ने गरेको उहाँले बताउनुभयो ।

बाढीले २५ वर्षीया श्रीमति चनी विक, ९ वर्षीय जेठो छोरो, २ वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरासहित भए भरको जायजेथा सबै बगाएको थियो । ‘केही छैन, घर सम्पत्ति भएको ठाउँ अहिले बगर बनेको छ, के मा गरिखाने, मागेर खाउँ भने पनि सबै आफै जस्तै पीडामा छन’ निमप्रकाशले भन्नुभयो ।

ढोरपाटन नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ मा आएको बाढीले १ सय ३१ घरमा क्षति पु¥याएको थियो भने ११ वटा जलविद्युत आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य इकाई, ११ झोलुङ्गे पुल, ढलान पुल ५ वटा काठेपुल १० र दुई विद्यालय समेत बगाएको थियो । क्षति पुगेका अधिकांश भौतिक संरचना भने मर्मत भएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

ढोरपाटन नगरपालिकाले चाडबाड लक्षित गरी बाढी पीडितलाई कुनै पनि सहयोग नगरेको ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख करमति पुनले बताउनुभयो । उनीहरुको लागि घर बनाउन नगरपालिकाबाट सहयोग गरिएको र क्षति ग्रस्त भौतिक संरचना निर्माण गर्न आफूहरुले जोड दिएको उहाँले बताउनुभयो । ‘चाडबाड लक्षित गरी हामीले कुनै सहयोग गर्ने कार्यक्रम गरेका छैनौँ, घर निर्माणका लागि सहयोग भएको छ, अन्य सहयोग भने अहिले भएको छैन,’ उहाँले भन्नुभयो । आदर्श अनलाइन

प्रकाशित मिति २०७८ असोज २७ गते बुधबार ०२:४५
प्रतिक्रिया दिनुहोस्