च्याङ्ग्राको मूल्य ४० हजार पुग्यो, लोकल कुखुरा बन्यो विकल्प

च्याङ्ग्राको मूल्य ४० हजार पुग्यो, लोकल कुखुरा बन्यो विकल्प
२०७८ असोज २८ गते बिहिबार १२:४७

हिमालपारिको जिल्ला मुस्ताङबाट भित्रने च्याङ्ग्राको भाउ बर्सेनि बढेकै हुन्छ । पछिल्ला चार वर्षमा च्याङ्ग्राको मूल्य दोब्बरले महँगिएको व्यापारी बताउँछन्। कोभिड–१९ का कारण तिब्बतबाट च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले मूल्य...

हिमालपारिको जिल्ला मुस्ताङबाट भित्रने च्याङ्ग्राको भाउ बर्सेनि बढेकै हुन्छ । पछिल्ला चार वर्षमा च्याङ्ग्राको मूल्य दोब्बरले महँगिएको व्यापारी बताउँछन्। कोभिड–१९ का कारण तिब्बतबाट च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले मूल्य आकासिँदै गएको हो।

व्यापारी महेन्द्र केसीले मुस्ताङको जोमसोम पुगेर दसैँलाई च्याङ्ग्रा ल्याएको बताउनुभयो । भाउ महँगिएका कारण पहिले झैँ धेरै च्याङ्ग्रा नल्याएको उहाँले सुनाउनुभयो । बागलुङ सदरमुकाममा मासु पसल समेत चलाउँदै आएका केसीले एककिलो च्याङ्ग्रोको मासुलाई १८०० मा बेच्दै आउनुभएको छ ।

उहाँका अनुसार कतिपय पसलेले दुई हजारसम्ममा बेच्ने गरेका छन् । यसरी च्याङ्ग्राको भाउ छोई नसक्नुभएका बेला यहाँका कुखुरापालक किसानले दसैँमा स्वादिष्ट लोकल कुखुरा उपलब्ध गराएका छन्। भाउ पनि च्याङ्ग्राभन्दा सस्तो छ ।

गलकोट नगरपालिका–६ मजुवाफाँटस्थित दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्मका सञ्चालक छुमबहादुर थापाले ३०० लोकल कुखुरा बेच्नका लागि ठिक्क भएको बताउनुभयो । साकिने, घाँटीखुइले, उल्टे लगायत लोकल जातका कुखुरा फार्ममा छन् ।

‘एक किलोको ७५० मूल्य छ, चाडबाडमा कुखुराको बिक्री बढी हुन्छ’, उहाँले भन्नुभयो, ‘दसैँमा बोका, च्याङ्ग्रा किन्न नसक्नेलाई लोकल कुखरा नै ठिक छ ।’ स्वादिष्ट र स्वस्थकर हुने हुँदा लोकल कुखुराप्रति उपभोक्ताको रुचि छ ।

लोकल जातका कुखुराको व्यावसायिकपालन पनि बढ्दो छ । बागलुङ नगरपालिका–४ रातमाटाका अगुवा किसान वैकुण्ठ सापकोटाका अनुसार जिल्लाभर ५० भन्दाबढी किसान लोकल जातका कुखुरापालनमा संलग्न छन् । पहिले ब्रोइलर, कोइलर जस्ता उन्नत प्रजातिका कुखुराको बजार अत्यधिक थियो ।

‘दसैँमा च्याङ्ग्राको मासु महँगो भएर के भो ररु लोकल कुखुरा, खसीबोका छँदै छन् नि’, उहाँले भन्नुभयो, ‘ग्राहकलाई चाहिने जति कुखुरा दिन व्यवसायी तयार छन्।’

स्थानीय उत्पादनको प्रयोगले किसानलाई प्रोत्साहन मिल्नुका साथै आन्तरिक बजार चलायमान हुने उहाँको भनाइ छ । उहाँले सञ्चालन गरेको सापकोटा कृषि फार्ममा अहिले ५०० लोकल कुखुरा छन् । फार्ममा साकिनी, गुजुमुजे, उल्टे र घाँटीखुइले जातका कुखुराको व्यावसायिकपालन हुँदै आएको छ ।

रातमाटामा सापकोटासँगै भविन्द्र विक, विजय शर्मालगायत लोकल जातका कुखुरापालनमा लाग्नुभएको छ । चौध वर्षसम्म मलेसियामा श्रम–पसिना बगाएर फर्किएका विक र विदेश जाने चक्करमा पटकपटक हण्डर खाएका उहाँले लोकल कुखुरामा आफ्नो भविष्य देखेको बताउनुभयो ।

प्रकाशित मिति २०७८ असोज २८ गते बिहिबार १२:४७
प्रतिक्रिया दिनुहोस्