विकासलाई तीब्रता दिँदै तमानखोला गाउँपालिका

विकासलाई तीब्रता दिँदै तमानखोला गाउँपालिका
२०७८ कार्तिक ९ गते मङ्गलबार ०७:३४

बागलुङ जिल्लाकै दुर्गम मानिएको तमानखोला गाउँपालिका समृद्ध पालिका बनाउने अभियानमा जुटेको छ । जनप्रतिनिधिले चुनावी बाचा सहित जनतासँग प्रत्यक्ष जोडिएका विकासका योजनाहरुलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । स्थानीत तह हुनुभन्दा...

बागलुङ जिल्लाकै दुर्गम मानिएको तमानखोला गाउँपालिका समृद्ध पालिका बनाउने अभियानमा जुटेको छ । जनप्रतिनिधिले चुनावी बाचा सहित जनतासँग प्रत्यक्ष जोडिएका विकासका योजनाहरुलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

स्थानीत तह हुनुभन्दा अगाडि दुर्गम क्षेत्र भएकै कारण कसैको नजर नपर्ने उक्त पालिकामा अहिले सबै वडामा सडक सञ्जाल जोडिएको छ । विकासको महत्वपूणर् आधार मध्यको एक सडक भएका कारण आफुहरुले प्राथमिकताका साथ योजना छनौट गरेर सबै वडामा सडक पु¥याइएको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

अब केही बस्तीमा मात्र सडक पुग्न बाँकी रहेका कारण चाँडै सडक सञ्जालले जोडिने अध्यक्ष बुढा मगरको भनाइ छ । सडक नपुग्दा खुखानी, नर्जाखानी, लगायत गाउँबाट दिनभर हिँडेर बुर्तिबाङ पुग्नुपथ्र्यो ।

गाउँमा कोही बिरामी पर्दा डोकोमा बोकेर भरिया लगाएर गाउँलेले उपचार गर्न बुर्तिबाङ सम्म ल्याउन बाध्य हुन्थे तर अहिले वडा–वडामा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको छ । स्थानीय तह गठन भइसकेपछि गाउँ–गाउँमा सडक आएको भन्दै पहिले एक दिनमा पुग्ने बुर्तिबाङ बजार अहिले एकैछिनमा पुग्न सकिने वडा नम्बर ४ का तुलबहादुर छन्त्यालले बताउनुभयो ।

शिक्षा क्षेत्रमा पछि परेको गाउँपालिकाले प्राथमिकता दिएर चुहिने विद्यालयलाई पक्की विद्यालयको रुपमा स्तरउन्नति गर्दै आएको अध्यक्ष बुढा मगरले बताउनुभयो । १२ वर्षकै उमेरमा हुने बाल विवाहलाई पनि गाउँपालिकाले अन्त्य गरेको उहाँको भनाइ छ ।

सचेतनामूलक कार्यक्रम मार्फत बालविवाह रोकथाममा सहयोग पुगेको वडा नम्बर २ का अध्यक्ष अध्यक्ष मिनबहादुर घर्तीले बताउनुभयो । विद्यालय सुधार कार्यक्रमतर्फ शान्ति मावि, भगवती प्रावि, हिले प्रा.वि, विद्यासागर प्राविको भौतिक पूर्वाधार सुधार भइसकेको छ ।

हिले प्रावि, सरस्वती आवि, दिल्ली प्राविको ४ कोठा पक्की भवन बनेको छ । यो लगाएत गाउँपालिकाले प्रत्येक वडामा रहेका विद्यालयहरुको भौतिक संरचना निर्माण गरेको र खानेपानी, व्यवस्थित शौचालय समेत निर्माण गरेको गाउँपालिकाले जनाएको छ । शिक्षा क्षेत्रको सुधार गर्न सकेमात्र चेतनाको विकास र समग्र गाउँपालिकाले खोजेको समृद्धि ल्याउन सकिने उद्देश्यस्वरुप शिक्षा क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ लगानी गरिरहेको अध्यक्ष बुढाले बताउनुभयो । उहाँले हरेक विद्यालयलाई व्यस्थित गर्न गाउँपालिकाले योजना बनाएरै लागेको बताउनुभयो ।

सामान्य बिरामी पर्दा समेत बुर्तिबाङ आउनु पर्ने तमानखोलावासीको बाध्यता अहिले हटदै गएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको लगानीका कारण त्यहाँका नागरिकलाई निकै सहज भएको छ । स्थानीय तह आउनु अगाडि ३ वटा स्वास्थ्य संस्थाबाट सेवा पाइरहेको नागरिकले अहिले गाउँ–गाउँबाट सेवा लिइ रहेका छन् ।

गाउँपालिकाले टोल टोलमा स्वास्थ्य इकाई स्थापना गरिएपछि गर्भवती सुत्केरी, बालबच्चा, जेष्ठ नागरिक तथा असहाय गरिव विपन्न वर्गले गाउँका स्वास्थ्य सस्थाबाट सेवा लिइरहेको गाउँपालिकाले जनाएको छ ।

कोभिड १९ को चुनौतीलाई सहज रुपमा पार लगाएको गाउँपालिकामा पछिल्लो समय एमविविएस डा. व्यवस्थापन गरेर विभिन्न प्रकारमा स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । गाउँपालिकामा ग्रामीण स्वास्थ्य सुधार परियोजनाले समेत राम्रो सहयोग गरिरहेको छ ।

दुर्गम गाउँमा रहेका स्वास्थ्य संस्थामा ल्याव सेवा, गर्भवती सेवा, स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर व्यवस्थापनसँगै स्वास्थ्य इकाई व्यवस्थापन र सचेतनामुलक कार्यक्रम गरिरहेको छ । खानेपानीमा एक घर एक धाराको अभियान सञ्चालन गरिरहेको तमानखोलाले ८० प्रतिशत नागरिकमा खानेपानीको पहुँच पुगेको जनाए छ ।

प्रकाशित मिति २०७८ कार्तिक ९ गते मङ्गलबार ०७:३४
प्रतिक्रिया दिनुहोस्