रुकुम, रोल्पा र बागलुङको संगम स्थल हो तिलाचन धुरीमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ ।
त्यहाँका रिगा ताल र तिलाचन तालले थप प्राकृतिक सौन्दर्यता बढाएका छन। त्यहाँ पुग्ने जो कसैको प्राकृतिक सुन्दरता र मनोरम दृश्यले मन लोभ्याउने गरेको छ । मध्यपहाडी लोकमार्गको स्तरोन्नति र जिल्लाको पश्चिम भुभागमा कालोपत्रे भए सँगै त्यस क्षेत्रमा मानिसको चहलपहल समेत ह्वात्तै बढेको छ ।
समुद्री सतह देखि ३ हजार ४ सय मिटर उचाईमा अवस्थित तिलाचन धुरी प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणिय स्थलको रुपमा पछिल्लो समय परिचित हुँदै गएको छ ।
३ जिल्लाको मनोरम दृश्य अवलोकन गर्न पाईने भएकाले पछिल्लो समय त्यहाँ आन्तरिक पर्यटकको आवागमनमा समेत उल्लेख्य वृद्वि भएको छ । पातीहाल्ने नामले परिचित उक्त ठाउँ बागलुङ, पुर्वी रुकुम र रोल्पाका गोठालाहरुको भेटघाट हुने विन्दु र बासस्थान समेत हो ।
आधा दशक अगाडी सम्म पशु चौपाया र सिमित गोठालाहरु भेटिने त्यस ठाउँमा मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नती सँगै अहिले त्यहाँ गाडी र मानिसको भिडभाड बढ्न थालेको छ । त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक र स्थानियबासीलाई लक्षित गरि नेपाल टेलिकमले पहिलो पटक मोबाईल सेवा सञ्चालनमा ल्याएको छ ।
बागलुङको निसीखोला गाउँपालिका वडा नं. ६ स्थित तिलाचन धुरी (पातीहाल्ने) मा टेलिकमले स्थायी संरचना निर्माण गरि मोवाईल सेवा टुजी र फोर जी एक साथ शुभारम्भ गरेको टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयो ।
टेलिकमले ग्रामीण र दुरदराजका बस्ती सँगै लोकमार्ग आसपासका क्षेत्रमा आफनो सेवालाई निरन्तर विस्तार र स्तरोन्नती गर्ने योजना अनुरुप २५ मिटर अग्लो बिटियस टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याईएको शर्माले जानकारी दिनुभयो ।
यो भन्दा पहिले त्यस क्षेत्रमा मोवाईल सेवा थिएन जसका कारण त्यहाँका स्थानियबासी, मध्यपहाडी लोकमार्गको निसी भल्कोट देखि पुर्वी रुकुमको भुमे गाउँपालिका हुँदै यात्रा गर्ने यात्रु र रोल्पाको सुनछहारी गाउँपालिकाका बासिन्दा मोवाईल र ईन्टरनेट सेवाबाट वञ्चित थिए । अहिले मोवाईल सेवा सुचारु भएसँगै उक्त क्षेत्रलाई सञ्चारमा सुगम बनाएको शर्माको भनाई छ ।










