दलका अधिवेशनले बागलुङ जिल्लाका होटल भरिभराउ

दलका अधिवेशनले बागलुङ जिल्लाका होटल भरिभराउ
२०७८ मङ्सिर ६ गते सोमबार ०२:२१

बागलुङ - राजनीतिक दलका अधिवेशनको चटारो सुरु भएसँगै बागलुङ जिल्लाका होटल भरिभराउ हुन थालेका छन् । दलका नेता, कार्यकर्ता र प्रतिनिधि एकै ठाउँमा जम्मा भएपछि यहाँका होटल र रेस्टुरेन्टको व्यापार चुलिएको हो । नेपाली कांग्रेसको १४औं...

बागलुङ – राजनीतिक दलका अधिवेशनको चटारो सुरु भएसँगै बागलुङ जिल्लाका होटल भरिभराउ हुन थालेका छन् । दलका नेता, कार्यकर्ता र प्रतिनिधि एकै ठाउँमा जम्मा भएपछि यहाँका होटल र रेस्टुरेन्टको व्यापार चुलिएको हो ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन, नेकपा एमालेको १० औँ महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया र माओवादी केन्द्रको वडा अधिवेशनले जिल्लामा राजनीतिक सरगर्मी बढाएको छ । कोरोनाका कारण लामो समय माथि उठ्न नसकेको व्यापार–व्यवसायलाई राजनीतिक दलको अधिवेशनले उकास्न थालेपछि होटल, रेस्टुरेन्ट सञ्चालक उत्साही भएका छन् । केहि दिन यता जिल्लाको दोस्रो ब्यापारिक केन्द्र बुर्तिबाङ विभिन्न होटलहरु भरिभराउ देखिएका थिए ।

उता बागलुङ सदरमुकाममा अधिकांश होटलका कोठा बुकिङ भइसकेको जनाईएको छ । राजनीतिक दलको महाधिवेशन तथा भेलाले यहाँको अर्थतन्त्र चलायमान् बनाएको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल पनि महाधिवेशनको लहर सँगै ठाउँठाउँमा होटल, रेस्टुरेन्ट र खाजा पसलको व्यापार बढेको बताउँनुभयो ।

बागलुङमा शुक्रबारबाट नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेशतर्फको अधिवेशन सुरु भएको छ । जिल्लाको क्षेत्र नं १ प्रदेश सभा को अधिवेशन बागलुङ बजारमा आयोजना गरिएको थियो । यसमा ४ सय ६३ प्रतिनिधि सहभागी भएका थिए । कांग्रेसको मंसिर ६ गते प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र ९ क्षेत्रीय अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशन हुने कार्यतालिका छ ।

दशौं राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको एमालेले पनि स्थानीय तहको अधिवेशन सम्पन्न गरी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट गरिसकेपछि अहिले जिल्लामा राजनीतिक भेटघाट बढेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रको आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनपूर्व बागलुङका सबै स्थानीय तहमा वडा सम्मेलन सुरु भएको छ । मंसिर ११ गते सबै पालिकामा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदै छ ।

गण्डकी प्रदेशको दोस्रो व्यापारिक केन्द्र बागलुङमा कोरोना नियन्त्रणका लागि झन्डै दुई वर्षदेखि लगाइँदै आएको निषेधाज्ञा हटेसँगै मुक्तिनाथ दर्शन र मुस्ताङ घुम्न जाने पर्यटक बागलुङका पञ्चकोट, भैरवस्थान, घुम्टे, कालिका मन्दिरमा आउन थालेपछि सदरमुकामका होटलमा चहलपहल बढेको होटल शीतलको सञ्चालक तालबहादुर कुँवरले बताउनुभयो ।

जिल्लामा रहेको विश्वकै लामो झोलुङ्गे पुल, प्रसिद्ध कालिका मन्दिर, पञ्चकोट, शालिग्राम संग्रहालयलगायत धार्मिक–पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकको संख्या बढेसँगै होटलमा चहलपहल बढेको हो ।

जिल्लामा झन्डै १ सय होटल, रेस्टुरेन्ट दर्ता भएकामा बागलुङ सदरमुकाममा मात्र ७० होटल सञ्चालनमा छन् । होटल व्यवसायी संघ बागलुङका अनुसार साना–ठूला सबै होटलमा गरी ५० करोडभन्दा बढी लगानी छ ।

प्रकाशित मिति २०७८ मङ्सिर ६ गते सोमबार ०२:२१
प्रतिक्रिया दिनुहोस्