राष्ट्रिय जनगणनामा सहभगी हुन बागलुङ ढोरपाटनका कायत समुदाय तयार

राष्ट्रिय जनगणनामा सहभगी हुन बागलुङ ढोरपाटनका कायत समुदाय तयार
२०७८ मङ्सिर ८ गते बुधबार ०७:४०

ढोरपाटन- राष्टिय जनगणना २०७८ मा सहभागी नहुने घोषणा गरेका बागलुङको ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागि हुने भएका छन् । ढोरपाटन नगरपालिका –७ बोबाङका कायत समुदाय जनगणना कार्यालय बागलुङबीच सहमति भएपछि उनीहरु जनगणनामा सहभागि हुने...

ढोरपाटन- राष्टिय जनगणना २०७८ मा सहभागी नहुने घोषणा गरेका बागलुङको ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागि हुने भएका छन् । ढोरपाटन नगरपालिका –७ बोबाङका कायत समुदाय जनगणना कार्यालय बागलुङबीच सहमति भएपछि उनीहरु जनगणनामा सहभागि हुने भएका हुन् ।

राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणनामा सहभागी नहुने भन्दै कायत एकता समाजले कात्तिकको अन्तिम साता जनगणनामा सहभागी नहुने निर्णय गरेको थियो । जातीय पहिचानको आधारमा सरकारले बिभिन्न स्थानमा आरक्षण लगायतका छुट दिँदै आएको भएपनि पहिचान विहीन भएको भन्दै कायत समुदायले जनगणना बहिष्कार गर्ने निर्णय गरेका थिए ।

तथ्याङ्क कार्यालय बागलुङका प्रमुख मुकुन्द प्रसाद शर्मा लगायतको टोलीले मंगलबार उनीहरुसंग भेटघाट गरेको थियो । भेटघाटको क्रममा कायत समुदायको पहिचानको लागी पहल र बिभिन्न ठाउँमा सिफारिस गर्ने प्रतिवद्धता जनाएपछि जनगणनामा सहभागी हुन राजी भएको कायत एकता समाजका अध्यक्ष निम बहादुर कायतले जानकारी दिनुभयो । ‘ जिल्ला तथ्याङ्क कार्यालय बागलुङको टोलीले हामीहरुसंग बैठक बसेर पहल गर्छु भनेपछि हामी जनगणनाका लागी राजी भएका छौँ’, कायत भन्नुभयो ,‘पहल गर्छौँ भनेर प्रतिवद्धता जनाएपछि मात्र जनगणनामा सहभागी हुन हामी राजी भएको हौँ ।’

हाल ढोरपाटनमा कायत समुदायका करिब ८० घरपरिवार बसोबास गर्दै आएका छन् । कायत समुदायलाई अल्पसंख्यक समुदायमा सूचीकृत गरिनुपर्ने उनीहरुले बताउदै आएका छन् । कायत नौथर समुदाय भित्र पर्दछन् । नौथर भित्रकै पसाई र पुजाय थर लोप भैसकेका छन् । सहमति पछि बुधबार उनीहरुको जनगणना गरिने शर्माले तथ्यांक तथा जनगणना कार्यालय बागलुङका प्रमुख मुकुन्द शर्माले बताउनुभयो ।

प्रकाशित मिति २०७८ मङ्सिर ८ गते बुधबार ०७:४०
प्रतिक्रिया दिनुहोस्