अर्थमन्त्री जनार्दन शर्मा बुर्तिबाङमा, पश्चिम बागलुङको विकासबारे ध्यानाकर्षण

अर्थमन्त्री जनार्दन शर्मा बुर्तिबाङमा, पश्चिम बागलुङको विकासबारे ध्यानाकर्षण
२०७८ मङ्सिर ९ गते बिहिबार ०७:४८

बागलुङ जिल्लाको पश्चिम क्षेत्रको विकासबारे नेकपा (माओवादी केन्द्र)ले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई ध्यानाकर्षण गराएको छ । आज जिल्लाको दोस्रो ब्यापारिक केन्द्र बुर्तिबाङमा आयोजित अन्तक्र्रिया कार्यक्रममा पार्टीको...

उचित मागको सकारात्मक पहल लिने अर्थमन्त्रीको प्रतिबद्धता

बागलुङ जिल्लाको पश्चिम क्षेत्रको विकासबारे नेकपा (माओवादी केन्द्र)ले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई ध्यानाकर्षण गराएको छ । आज जिल्लाको दोस्रो ब्यापारिक केन्द्र बुर्तिबाङमा आयोजित अन्तक्र्रिया कार्यक्रममा पार्टीको ढोरपाटन नगर कमिटीले अर्थमन्त्री शर्मासमक्ष विविध विषयमा मागपत्र बुझाएको हो ।

बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्रोत साधनयुक्त बनाउने,निसीभुजी जनता क्याम्पसमा छात्राबार लगायत समग्र भैतिक तथा शैक्षिक सुधार, बुर्तिबाङ कुत्थाप्ला,अर्नाकोट हुदैँ ढोरपाटन पुग्ने पर्यटकिय पैदलमार्ग निमार्ण,उत्तरगगा जलाशययुक्त जलविद्युत आयोजनाको निमार्ण प्रकृया अगाडी बढाउन र मध्यपहाडी पुष्पलाल लोकमार्ग कालोपत्रे लगायतका विकास योजना यथाशीघ्र कार्यान्वयनमा ल्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको माओवादी केन्द्रका नगर इञ्चार्ज चन्द्रलाल अर्यालले बताउनुभयो ।

“हामीले पहिले देखि नै उठाउँदै आएका माग र मुद्दालाई अर्थमन्त्री समक्ष मौखिक र लिखित दुवै माध्यमबाट राख्यौँ”,उहाँले भन्नुभयो, “प्रस्ताव अघि बढाउने देखि बजेट व्यवस्थापनका सन्दर्भमा सकारात्मक पहल लिने प्रतिबद्धता मन्त्रीज्यूबाट आएको छ ।” यस क्षेत्र विकासमा अझै पनि पछि परेको बताउदैँ अर्थमन्त्रीबाट उचित मागहरु छिटै सम्बोधन हुने विश्वास समेत ब्यक्त गर्नुभएको थियो ।

यस क्रममा अर्थमन्त्री शर्माले बुर्तिबाङ सहित समग्र जिल्लाको विकासमा सरकारले ध्यान दिने बताउनुभएको थियो । सो अवसरमा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यसमेत रहेका अर्थमन्त्री शर्माले पार्टीको आन्तरिक परिस्थिति, आसन्न राष्ट्रिय सम्मेलन लगायतका विषयमा नेता, कार्यकर्तालाई जानकारी गराउनुभएको ढोरपाटन नगर कमिटीले जनाएको छ ।

कार्यक्रममा (माओवादी केन्द्र)का जनप्रतिनिधिलगायत नेता, कार्यकर्ताको उपस्थिति थियो । लोकमार्ग भएर गृह जिल्ला रुकुम पश्चिमको मुसिकोट नगरपालिका जाने सिलसिलामा अर्थमन्त्री शर्माले बुर्तिबाङमा अगुवा कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा भाग लिनुभएको थियो ।

नेकपा माओवादी केन्द्र ढोरपाटन नगर कमिटीको आयोजना रहेको उक्त कार्यक्रममा यस क्षेत्रका अगुवा कार्यकर्ता लगायत स्थानियहरुको सहभागिता रहेको थियो । नगर कमिटी अध्यक्ष भिम गौतमको अध्यक्षता रहेको कार्यक्रममा नगर ईन्चार्ज चन्द्रलाल अर्यालको स्वागत मन्तब्य सहित मागपत्र पेश गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव सुमित घर्तिले गर्नुभएको थियो ।

उता जिल्लाको गलकोट नगर क्षेत्रको विकासबारे नेकपा (माओवादी केन्द्र)ले पनि अर्थमन्त्री जनार्दन शर्मालाई ध्यानाकर्षण गराएको छ । आज गलकोट, हटियामा आयोजित अन्तक्र्रिया कार्यक्रममा पार्टीको नगर कमिटीले अर्थमन्त्री शर्मासमक्ष विविध विषयमा मागपत्र बुझाएको थियो ।

गलकोटमा इलाका प्रशासन कार्यालय स्थापना, स्मार्ट सिटी निर्माण र मध्यपहाडी पुष्पलाल लोकमार्ग कालोपत्रे लगायतका विकास योजना यथाशीघ्र कार्यान्वयनमा ल्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको माओवादी केन्द्रका गलकोट नगर इञ्चार्ज फमलाल निउरेले जानकारी दिनुभयो ।

यस्तै आज नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका ३ को वडा अधिवेशन सम्पन्र्न भएको छ । वडामा लिल बहादुर पुनको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठन गरिएको नगर ईन्चार्ज अर्याले जानकारी दिनुभयो । आज वडा नम्बर ३ को वडा अधिवेशन सगैँ ढोरपाटन नगरपालिकाको ९ वटै वडाहरुमा सकिएको छ । आउँदो मंसिर ११ गते बुर्तिबाङमा नगर अधिवेशन हुने जनाईएको छ ।

नगरमा माओवादी केन्द्रको २२ सय ८५ सदस्य मध्यबाट २० जना संगठित सदस्य बराबर १ जना नगर प्रतिनिधि चयन हुने नगर ईन्चार्ज अर्यालले बताउनुभयो । कार्यक्रमा संघिय सरकारका शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख आथित्यता रहने समेत बताईएको छ ।

यसैगरी जिल्लाको तमानखोला गाउँपालिकामा पनि वडा अधिवेशन सम्पन्र्न भैररहेका छन् । आज वडा नम्बर ४ मा मनोज वि.कको अध्यक्षतामा २९ सदस्य वडा कमिटी चयन गरिएको छ । माओवादी केन्द्रको तमानखोला गाउँपालिकामा ३ र ५ वडा बाहेक अन्य सबै वडाहरुमा अधिवेशन सकिएको जनाईएको छ ।

प्रकाशित मिति २०७८ मङ्सिर ९ गते बिहिबार ०७:४८
प्रतिक्रिया दिनुहोस्