कांग्रेस बागलुङको सभापतिमा भएको पुनःनिर्वाचनमा शनिबार भन्दा ३८ मत कम खस्यो

कांग्रेस बागलुङको सभापतिमा भएको पुनःनिर्वाचनमा शनिबार भन्दा ३८ मत कम खस्यो
२०७८ मङ्सिर १२ गते आईतबार ०५:४९

बागलुङ कांग्रेसको सभापतिमा भएको पुनःमतदानमा ३८ भोट कम खसेको छ । तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान भएको थियो । शनिबार सभापतीका लागि एक हजार ६८८ मत खसेकोमा आइतबारको पुन मतदानमा एक हजार...

बागलुङ कांग्रेसको सभापतिमा भएको पुनःमतदानमा ३८ भोट कम खसेको छ ।

तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान भएको थियो । शनिबार सभापतीका लागि एक हजार ६८८ मत खसेकोमा आइतबारको पुन मतदानमा एक हजार ६५० मत खसेको निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले बताउनुभयो । प्रतिनिधिले दोस्रो पटक मतदानमा सहभागी हुँदा सास्ती खेपेको भन्दै केही घर फर्केपछि मत कम खसेको पाइएको छ ।

७९० मत ल्याएका जगदीश चन्द्र उपाध्याय र ६८६ मत ल्याएका जीतबहादुर शेरचन बीच निर्वाचन पुनः निर्वाचन भएको थियो भने अर्का उम्मेदवार दोर्णकुमार कुँवरले १८६ मत ल्याएपछि निर्वाचन प्रकृया बाट बाहिरिनु भएको थियो ।

नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था भएपछि पुन मतदान भएको थियो । यो संगै उपाध्याय र शेरचन बीच कडा प्रतिस्प्रधा हुने देखिएको छ । कुँवरले शेरचनलाई समर्थन गरेपछि पश्चिम क्षेत्रको भोट शेरचनलाई आउने विश्वास गरिएको छ । तर उपाध्ययाले यस अघिको मतदानमा १०४ भोट बढी ल्याएका कारण उहाँले पनी आफ्नो पक्षमा निर्णय आउने अपेक्षा गर्नुभएको छ ।

यसअघि प्रचारमा लागेका जगदिशचन्द्र उपाध्याय र द्रोण कुँवर सहित जीतबहादुर शेरचन पनि सभापतिको मैदानमा उत्रिनुभएको हो  । क्षेत्रीय महाधिवेशन अगाडि मौन बसेका शेरचन आएपछि बागलुङको कांग्रेस राजनीतिमा नयाँ तरंग छाएको छ ।

गत १३ औं महाधिवेशनमा पराजित भएपछि संगठन सुदृढीकरण मार्फत फेरि १४ औं महाधिवेशनमा सभापतिमा भिडेको उपाध्यायको दावी छ । उहाँ रामचन्द्र पौडेल समूहका नेता हुनुहुन्छ । कुँवर देउवा समूह र शेरचन केन्द्रमा कृष्ण सिटौला समूहका रहेको जनाईएको छ । तर, चुनावी गठबन्धनको क्रममा भने कुँवर एक्लिनुभएको छ । संस्थापनमा देउवा निकट मानिए पनि जिल्लाका देउवा समूहले भने शेरचनको समर्थन गरेका छन् । केही व्यक्ति मात्रै कुँवरको पक्षमा देखिएका थिए ।

शेरचन नेतृत्वमा खिमानन्द पौडेल र सागर छन्त्याल उपसभापति, गण्डकी थापा अधिकारी र चिरन्जिवी गौतम सचिवका उम्मेदवार छन् । सह–सचिवमा ज्ञानेन्द्र गौतम र फमबहादुर खत्री उम्मेदवार छन् । यसअघि खत्रीले सचिवको दावी गर्नुभएको थियो ।

उता जगदिशचन्द्र उपाध्याय समूहबाट नारायण शर्मा पौडेल र तारानाथ पौडेल उपसभापति छन् । सचिवमा हरिहर शर्मा र कृष्ण केसी उम्मेदवार बनेका छन् । सहसचिवमा ज्ञानकुमारी श्रीष र झकबहादुर बुढा रहेका छन् ।

चुनावमा होमिएका उपाध्याय क्षेत्र नंं १ बाट महाधिवेशन प्रतिनिधिमा सबैभन्दा धेरै मत ल्याउने नेता हुनुहुन्छ । उनले कुल ९ सय २१ मतदातामा ६ सय २६ मत पाउनुभएको थियो । अर्का उम्मेदवार शेरचन क्षेत्र नंं. २ बाट सबैभन्दा धेरै मत ल्याउने नेता हुहुहुन्छ । उहाँले ८ सय २४ मतदाताबाट ४ सय ६८ मत ल्याउनुभएको थियो ।

यसपटको निर्वाचनमा सचिव पदमा पनि निकै प्रतिष्पर्धा हुने देखिएको छ । युवाहरुमा भिजेका उपाध्याय समूहका हरिहर शर्मा र शेरचन समूहका चिरन्जिवी गौतमले कसले बढी मत ल्याउने भन्ने प्रतिष्पर्धा बढी रोचक हुनेछ । अर्का दुई सचिवका उम्मेदवार पश्चिम क्षेत्रका भएकोले उनीहरुमध्ये पनि उत्तिकै टक्कर छ । कृष्ण बहादुर केसी र गण्डकी थापा अधिकारी सहसचिवमा उम्मेदवारी दिएका छन् । अधिकारीले महिला उम्मेदवार अरुको नभएको भन्दै आफ्नो पक्षमा बढी मत आउने बताउनुभयो भने केसीले तरुण दलमा काम गरेको अनुभवले युवाहरु आफ्नो पक्षमा भएको दावी गनुभयो ।

प्रकाशित मिति २०७८ मङ्सिर १२ गते आईतबार ०५:४९
प्रतिक्रिया दिनुहोस्