बागलुङको बलेवामा संरचना भएपनि प्याराग्लाइडिङ उडान हुन सकेन्

बागलुङको बलेवामा संरचना भएपनि प्याराग्लाइडिङ उडान हुन सकेन्
२०७८ पुस १ गते बिहिबार ०२:३१

बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना प्रयोगमा आउन नसकेका हुन् । प्याराग्लाइडिङका लागि आवश्यक मैदान, भवन र शौचालय...

बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना प्रयोगमा आउन नसकेका हुन् ।

प्याराग्लाइडिङका लागि आवश्यक मैदान, भवन र शौचालय तयार भएको बलेवा प्याराग्लाइडिङ स्थल निर्माण उपभोक्ता समितिका सचिव भरत पौडेलले बताउनुभयो । पोखराको प्याराग्लाडिङको विकल्पका रुपमा विकास गर्ने भन्दै गण्डकी प्रदेश सरकारको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यहाँ संरचना निर्माण गरेको थियो ।

मन्त्रालयको पर्यटन महाशाखाले सरोकारवालाको बैठक राखेर प्याराग्लाइडिङ सञ्चालन हुने भन्दै पूर्वाधार निर्माणको काम लगाएको थियो । पूर्वाधार निर्माण पश्चात यहाँ प्याराग्लाइडिङ हुने÷नहुने भन्ने विषय अन्योलमा छ । २०७५ सालमा गरिएको बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएपछि प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको थियो ।

‘पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा विस्थापन हुने प्याराग्लाइडिङको बलेवामा व्यवस्थापन गर्न सकिन्छ भन्ने थियो,’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भन्नुभयो ‘तर विमानस्थल सञ्चालन र पोखराबाट प्याराग्लाइडिङ विस्थापन हुने नहुने विषय नै विचाराधीन रहेकाले यहाँ तत्काल व्यवसायिक उडानको सम्भावना कम छ ।’

तर, तयार भएका संरचना निजी कम्पनीले अनुमति लिएर सुरु गर्न चाहेमा काम गर्न सकिने प्रमुख पौडेलले जानकारी दिनुभयो । बलेवामा प्याराग्लाइडिङको सम्भावना देखेकाले नै पूर्वाधार निर्माण भएको पौडेलले बताउनुभयो ।

‘पोखराको प्याराग्लाइडिङ विस्थापन नगरेरै विमानस्थल चलाउन सकिन्छ भन्ने विषयमा छलफल चलेको जानकारीमा आएका छन्,’ पौडेलले भन्नुभयो, ‘यदि पोखरामा दुवै सम्भव हुँदा यहाँ नयाँ व्यवसायिक कम्पनीले उडान गर्न सक्छन् ।’ पौडेलले नागरिक उड्ड्यन र पर्यटन मन्त्रालयले टुंगो लगाए बलेवामा नयाँ हिसाबले प्याराग्लाइडिङ चलाउन सकिने जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ पुस १ गते बिहिबार ०२:३१
प्रतिक्रिया दिनुहोस्