एचआईभी संक्रमण र यौन स्वास्थ्य- नेपालमा सरदर दैनिक दुई जनामा एचआईभी संक्रमण

  एचआईभी संक्रमण र यौन स्वास्थ्य- नेपालमा सरदर दैनिक दुई जनामा एचआईभी संक्रमण

डा. सुमनराज ताम्राकार

@समय नेपाल

२०७८ पुस ५ गते सोमबार ०६:५०

नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान गरिएको थियो । त्यसयता गत असार ३१ सम्मको तथ्यांकअनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ४० हजार ३४१ पुगेको छ । ३४ औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण...

नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान गरिएको थियो । त्यसयता गत असार ३१ सम्मको तथ्यांकअनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ४० हजार ३४१ पुगेको छ । ३४ औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार सरदर दैनिक दुई जनामा एचआईभी संक्रमण हुने गरेको छ ।

देशभरका विभिन्न सरकारी अस्पताल तथा उपचार केन्द्रबाट आर्थिक वर्ष २०७७/७८ मा २० हजार ८ सय ८३, आव २०७६/७७ मा १९ हजार २ सय ११, आव २०७५/७६ मा १७ हजार ९ सय ८७ र आव २०७४/७५ मा १६ हजार ४ सय २८ जनाले उपचार सेवा लिएका छन् ।

यो चार वर्षमा ७४ हजार ५०९ जना एचआईभी संक्रमितले उपचार सेवा लिएका छन् । सरकारले सन् २०३० सम्म एड्स महामारीको अन्त्य गर्ने लक्ष्य राखेको छ । शून्य नयाँ एचआईभी संक्रमण, शून्य एड्ससम्बन्धी मृत्यु र शून्य एचआईभी सम्बन्धित भेदभाव गर्ने लक्ष्य राखेको जनाएको छ । सरकारी तथ्यांकअनुसार संक्रमितको संख्या घटेपनि उपचार सेवा लिनेको संख्यामा भने कमी आएको देखिँदैन ।

सरकारले आगामी पाँच वर्षमा आमाबाट बच्चामा हुने एचआईभी संक्रमणको अन्त्य गर्ने लक्ष्य राखेको छ । सन् २०२६ सम्ममा आमाबाट जन्मेको बच्चामा सर्ने एचआईभी संक्रमण अन्त्य गर्ने लक्ष्य राखी कार्ययोजना अगाडि बढाएको हो ।

देशभर आमाको पेटमै संक्रमित भएको संख्या करिब १ हजार ३ सय रहेको छ । यसमा भर्खरै जन्मिएका शिशुदेखि १४ वर्षसम्मका बालबालिका रहेका छन् । कुल संख्याको ४ दशमलव २ प्रतिशत रहेको छ ।

एचआईभी संक्रमित गर्भवती महिलाको संख्या २ सय १६ छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा एचआईभी संक्रमितको अनुमानित संख्या ३० हजार ३ सय रहेको उल्लेख गरेको छ । महिला संक्रमित १३ हजार ९ सय ८६ र पुरुष १६ हजार ३१४ जना छन् ।

केन्द्रले वार्षिक ७ सय ५४ संक्रमित थपिने जनाएको छ । त्यसैगरी एड्सकै कारण एक वर्षमा ६ सय ३६ जनाको मृत्यु हुने भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा मात्र १५ देखि २४ वर्षका संक्रमित युवाहरूको प्रतिशत शून्य दशमलव २० प्रतिशत रहेको छ । हजार जनसंख्यामा एचआईभीको संक्रमणदर शून्य दशमलव ३ प्रतिशत छ ।

गत आव २०७७/७८ मा मात्र २ लाख ४२ हजार ६ सय ८९ जनाले एचआईभी परीक्षण गराएका थिए । सोही वर्ष २ हजार ५ सय ७९ जनामा एचआईभी संक्रमण देखिएको थियो । आव २०७६/७७ मा १ लाख ४७ हजार ९६८ जनाको परीक्षण गरिएको मध्येमा २ हजार ४ सय १६ जनामा एचआईभी पुष्टि भएको थियो ।

सन् २०३० सम्मका लागि ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको एआरभी औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून भएको हुनेछ । मुलुकमा भाइरल लोड परीक्षण गर्ने मेसिन ८ वटा छ । सात प्रदेशमा भाइरल लोड परीक्षण केन्द्र रहेका छन् ।

नेपालमा एचआईभीको उच्च जोखिममा सुईद्वारा लागूपदार्थ सेवन गर्नेहरू, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरू, वैदेशिक रोजगारीमा गएकाहरू र जेलमा रहेका कैदीबन्दीहरूसमेत एचआईभीको उच्च जोखिममा छन् ।

एचआईभी संक्रमितहरूलाई ८३ वटा एआरटी केन्द्र स्थापना गरी ४५ वटा एआरभी केन्द्रबाट निःशुल्क औषधि वितरण भइरहेको छ । हाल ४४ वटा जिल्लामा सञ्चालित छन् ।

                                                                  एचआईभी संक्रमण र यौन स्वास्थ्य

एचआईभी विभिन्न माध्यमबाट सर्छ तर नेपालमा असुरक्षित यौनसम्पर्कबाट, कुनै पनि व्यक्तिलाई एचआईभी संक्रमण भएको थाहा पाएपछि यौनजीवन पनि अस्तव्यस्त हुन थाल्छ । संक्रमणका कारणले उत्पन्न मानसिक अवस्थाका कारण यौन जीवन सुचारु राख्न गाह्रो हुन्छ । मानसिक समस्या तथा एचआईभी विरुद्धको एआरभी औषधिको साइड इफेक्टका कारण पनि यौनेच्छामा कमी आउन सक्छ । एचआईभी संक्रमण भएको कारणलाई लिएर दाम्पत्य जीवनमा तनाव एवं शंका उत्पन्न हुन गै सम्बन्ध विच्छेद वा पारिवारिक कलह निम्तिन सक्छ । त्यसो त एचआईभी संक्रमण नभएको व्यक्तिमा पनि लिङ्ग उत्तेजित नहुने, स्खलन नहुने, चरम सुख प्राप्त गर्न नसकिने समस्या हुनसक्छ तर एचआईभी संक्रमणपछि यसैलाई ती सबै कुराको दोष दिइन्छ जुन गलत हो ।

यौन जीवनमा यौन क्रिया मात्र सबै थोक होइन, पाकक्रीडा, कुराकानी, स्पर्श आदिको आफ्नै महत्व हुन्छ, तर एचआईभी संक्रमण भएको थाहा पाएपछि सुरक्षित तवरले यौनजीवन सुचारु राख्न सकिने भए पनि यौन क्रियाकलापलाई नै परहेज गर्न बेर लाग्दैन । सम्बन्ध चिसिन थालेपछि संक्रमित व्यक्तिलाई आत्मग्लानि एवं निराशाभावले सताउन थाल्छ । यस्तो हीनताबोधले यौन स्वास्थ्यमा थप नकारात्मक असर पुर्‍याउँछ । दम्पती वा यौनसाथीमध्ये कसैलाई एचआईभी संक्रमण भएको खुलासा भएपछि संक्रमितप्रति गरिने व्यवहार वा धारणा वा प्रतिक्रिया फरक–फरक हुनसक्छ । कतिपय संक्रमितलाई अति मायाले मलाई पनि एचआईभी भए जस्तो होस् आफ्नै जोडीको सन्तुष्टि, इच्छा कसरी पूरा गरूँ भन्ने मात्र ध्याउन्न हुन्छ भने अर्कोथरीले तिरस्कार गर्न बेर लगाउँदैन, त्यस्तै परे सम्बन्ध विच्छेदसम्म हुनसक्छ ।

जसरी एचआई संक्रमण हुनासाथ आफ्नो जीवन समाप्त भयो त्यसरी नै यौनजीवन पनि समाप्त भयो भन्ने सोच राख्नु हुँदैन । एचआईभी संक्रमण भैसकेपछि पनि नियमित एआरभी औषधि सेवन तथा सुरक्षित यौनसम्पर्कका माध्यमबाट यौन जीवन सुचारु राख्न सकिन्छ । संक्रमण सर्न नदिन आवश्यक सावधानी अपनाउनुपर्ने हुन्छ । यदि त्यसो गरेको खण्डमा संक्रमित व्यक्तिमा सकारात्मक भाव उत्पन्न भै आयु लम्ब्याउन मद्दत पुग्छ ।

पहिले–पहिले भए चिना जुराएर विवाह गर्न हुने–नहुने तय गरिन्थ्यो, आजभोलि कुनै व्यक्तिमा एचआइभी संक्रमण छ/छैन भन्ने जाँच पड्ताल गरेर मात्र आफ्नो जीवनसाथी छान्नुपर्ने बेला आएको छ । त्यसो भन्दैमा एचआईभी संक्रमितले विवाह नै गर्न हुँदैन, सन्तान जन्माउन हुँदैन भन्ने होइन तर आपसी छलफलमा भविष्यमा आइपर्ने समस्या तथा यसका लागि योजना बनाई अघि बढ्नुपर्ने हुन्छ । गर्भस्थ शिशु वा आफ्ना सन्तानलाई एचआईभी सर्ने सम्भावना कसरी कम गर्न सकिन्छ भन्नेतर्फ ध्यान पुर्‍याउनुपर्छ ।

एचआईभी संक्रमणपछि चिन्ता एवं उदासीनताले मानिस चाँडै गल्छ । अत: परामर्शदाताका साथै जीवनसाथीले संक्रमित व्यक्तिको तनाव कम गर्न सहयोग गर्नुपर्छ । खानपिन, व्यायामलाई नियमितता दिनुका साथै जीवनप्रति सकारात्मक सोच राख्नुपर्छ । यसमा सुरक्षित यौनसम्पर्कले थप प्रोत्साहन प्रदान गर्छ । यदि जोडी नै संक्रमित छ भने पनि पुन: संक्रमण वा सुपर संक्रमण हुन नदिन, एचआईभी बाहेकको अन्य यौनजन्य संक्रमण हुन नदिन तथा अनिच्छित गर्भ रहन नदिन कन्डम प्रयोग गर्नु पर्छ । असुरक्षित यौनसम्पर्कका कारण विभिन्न प्रजातिका एचआईभीले संक्रमण गरेको परिस्थितिमा औषधोपचारमा जटिलता उत्पन्न हुन्छ ।

सुरक्षित यौनसम्पर्कका लागि कन्डम सही तरिकाले प्रयोग गर्न आवश्यक छ । उचित तरिकाले कन्डम प्रयोग गर्दागर्दै कन्डम च्यातियो वा एचआईभी लाग्ने शंका भए कन्डम फुट्दा थप चिन्ता, डर, त्रास उत्पन्न हुन्छ । यस्तो अवस्थामा नआत्तिई नयाँ कन्डम लगाई यौनकार्य सुचारु राख्न सकिन्छ । स्खलन भैसकेको भए सुरक्षित तवरले लिङ्ग निकालेर साबुनपानीले धुनुपर्छ । कन्डम फुटे त्यसको सम्भावित असरका सम्बन्धमा दम्पतीले नै परामर्शदाता वा सम्बन्धित चिकित्सकसँग छलफल गरी प्रतिरोधात्मक एआरभी औषधि खानु तथा निश्चित समयमा रक्तपरीक्षण गराउनुपर्छ ।

एचआईभी संक्रमणका कारण व्यक्ति विशेषको रोगसँग लड्ने क्षमता कम हुँदै जान्छ । वीर्य, रगत एवं योनिरसमा एचआईभी जीवाणु धेरै हुने भएकाले असुरक्षित यौनसम्पर्क एवं निर्मलीकृत नगरिएको सुई तथा परीक्षण नगरिएको रगतबाट एचआईभी सर्ने सम्भावना बढी हुन्छ । संक्रमित व्यक्तिको यी तरल पदार्थसँग सम्पर्कमा आउँदैमा एचआईभी सर्छ नै भन्ने कुनै ग्यारेण्टी छैन तर सर्ने सम्भावना निकै बढी हुन्छ । सहि तरिकाले कन्डम प्रयोग गरे त्यसले संक्रमित वीर्य एवं योनिरसको प्रत्यक्ष सम्पर्क घटाउँछ ।

एचआईभी संक्रमणको जोखिम

जिब्रो नै प्रयोग गरेर गरिने गहिरो खालको चुम्बनले संक्रमित व्यक्तिको र्‍यालको सम्पर्कमा पुर्‍याउँछ । यस्तो अवस्थामा मुखमा घाउ खटिरा छ वा गिजाबाट रगत आउने समस्या छ भने एचआईभी सर्न सक्छ । संक्रमित व्यक्तिको रगतको दाँजोमा थुक, आँसु एवं पसिनामा निकै कम मात्र एचआईभी जीवाणु हुन्छन् । त्यसैले एचआईभी सर्ने सम्भावना पनि निकै थोरै मात्र हुन्छ । मानव शरीर बेगरका बाह्य वातावरणमा एचआईभी बाँच्न सक्दैन । त्यसैले अंकमाल गर्दा, सँगै बस्दा, एउटै समान प्रयोग गर्दा एचआईभी सर्दैन ।

 

प्रकाशित मिति २०७८ पुस ५ गते सोमबार ०६:५०
प्रतिक्रिया दिनुहोस्