धाराको पानी बरफ बनेपछि ढोरपाटन बागलुङका स्थानियलाई सास्ती

धाराको पानी बरफ बनेपछि ढोरपाटन बागलुङका स्थानियलाई सास्ती
२०७८ पुस १७ गते शनिवार ०७:१९

बागलुङको बुर्तिबाङ हुदैँ ढोरपाटन सिकार आरक्षण केन्द्र जाने सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बुर्तिवाङ–ढोरपाटन सिकार आरक्ष सडकखण्डको बोवाङको फल्ले घरदेखि ढोरपाटन उपत्यका सडक क्षेत्रमा बाक्लो हिउँ जमेको हुँदा सडक अवरुद्ध भएको...

आरक्षण केन्द्र जाने सडक पूर्णरुपमा अवरुद्ध

बागलुङको बुर्तिबाङ हुदैँ ढोरपाटन सिकार आरक्षण केन्द्र जाने सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बुर्तिवाङ–ढोरपाटन सिकार आरक्ष सडकखण्डको बोवाङको फल्ले घरदेखि ढोरपाटन उपत्यका सडक क्षेत्रमा बाक्लो हिउँ जमेको हुँदा सडक अवरुद्ध भएको हो । ढोरपाटन उपत्यका क्षेत्रमा बसोबास गर्ने नागरिक घरमै थुनिएका छन् ।

अन्यत्र देखि ढोरपाटन जाने स्थानीय तथा पर्यटक पनि रोकिएका छन् । सडकमा तीन फिटदेखि माथि हिउँ जमेको ढोरपाटनस्थित ज्योति विकास आधारभूत विद्यालयका शिक्षक श्याम विकले जानकारी दिनुभयो । बाक्लो हिमपातपछि ढोरपाटन क्षेत्रमा सञ्चालित विद्यालयको पठनपाठन बन्द गरिएको छ ।

ढोर क्षेत्रका विद्यालय हरेक वर्ष पुस १५ गतेदेखि बन्द हुन्छन् । यो वर्ष पुस १४ गते हिउँ परेको हुँदा एक दिन अघि नै विद्यालय बन्द गर्नुपर्ने बाध्यता भयो । ढोरपाटन क्षेत्रका विद्यालयमा बर्खे बिदा हुँदैन । हिउँदमा ४५ दिन जाडो बिदा गर्ने चलन छ ।

मङ्गलबार रातिदेखि भारी हिमपात हुँदा ढोरपाटन नगरपालिका–९ नेपानेमा रहेको नेपाल टेलिकमको टावरलाई विद्युत् उपलब्ध गराउने सोलार प्यानमा हिउँ थुप्रिँदा तीन दिन सञ्चार सेवा अवरुद्ध भएको थियो । ढोरपाटन सिकार आरक्ष क्षेत्रको शत्रुमर्दन गुल्ममा कार्यरत नेपाली सेनाको टोलीले सोलार प्यानलको हिउँ हटाएपछि सो क्षेत्रमा सञ्चार सेवा सुचारु भएको छ ।

अत्यधिक चिसोको कारण धारामा पानी जम्दा स्थानीयले आगोमा हिउँ पगालेर प्रयोग गर्न बाध्य भएको विकले बताउनुभयो । दिउँसोको समय धारोमा पानी आउने गरे पनि बिहान बेलुकी बरफ बन्छ ।

विद्यालय बन्द भएपछि बेसी झर्ने पर्खाइमा रहेका विद्यार्थी तथा उनका अभिभावक सडक अवरुद्ध हुँदा ढोरपाटनमै थुकिएका छन् । डोजर प्रयोग गरेर सडक खुलाउनुपर्ने शिक्षक विकको भनाइ छ । हिउँ पग्लेर सडक सञ्चालन हुन कठिन हुने उहाँले जानकारी दिनुभयो । स्रोत – गोरखापत्र

प्रकाशित मिति २०७८ पुस १७ गते शनिवार ०७:१९
प्रतिक्रिया दिनुहोस्