एमाले जिल्ला अधिवेशन : बाग्लुङ जिल्ला कमिटीमा १० बुँदे पक्षधर नेताहरु हावी

एमाले जिल्ला अधिवेशन : बाग्लुङ जिल्ला कमिटीमा १० बुँदे पक्षधर नेताहरु हावी
२०७८ पुस २६ गते सोमबार ०५:५०

बाग्लुङ- नेकपा एमालेको बाग्लुङ जिल्ला कमिटीमा १० बुँदे पक्षधर नेताहरु हावी भएका छन् । शुक्रबार शुरु भएको जिल्ला अधिवेशनमा सर्वसम्मतिबाटै नेतृत्व टुंगो लगाउने भनिएपनि आइतबार दिउँसोसम्म सहमति जुटन नसकेपछि साँझ चुनावी प्रक्रिया...

बाग्लुङ- नेकपा एमालेको बाग्लुङ जिल्ला कमिटीमा १० बुँदे पक्षधर नेताहरु हावी भएका छन् । शुक्रबार शुरु भएको जिल्ला अधिवेशनमा सर्वसम्मतिबाटै नेतृत्व टुंगो लगाउने भनिएपनि आइतबार दिउँसोसम्म सहमति जुटन नसकेपछि साँझ चुनावी प्रक्रिया शुरु भएको थियो ।

सोमबार सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा दशबुँदे पक्षधर हिराबहादुर केसी निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी कृष्ण पाठकलाई सयभन्दा बढी मतान्तरले पराजित गर्नुभएको थियो । अध्यक्ष पदका लागि ३ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा विजयी भएका केसीले ३ सय २९ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी पाठकले २ सय २८ मत ल्याए भने अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले जम्मा ३४ मत मात्र पाउनुभएको थियो ।

बागलुङमा यसअघिका जिल्ला अध्यक्ष पनि १० बुँदे पक्षधर इन्द्रलाल सापकोटा हुनुहुन्थ्यो । एमालेको तत्कालीन माधवकुमार नेपाल समूह गण्डकी प्रदेशमा निकै कमजोर थियो । गण्डकीका ११ वटा जिल्लामध्ये बागलुङमा मात्रै इन्द्रलाल सापकोटाले नेतृत्व गरिरहनुभएको थियो । प्रदेशसभामा पनि नेपाल समूहका सापकोटा मात्र हुनुहुन्थ्यो । २ भदौमा माधवकुमार नेपालले नयाँ पार्टी बनाउँदा सापकोटा भने पार्टी एकताका लागि भएको १० बुँदेको पक्षमा उभिनुभयो ।

केन्द्रीय सदस्य भएपछि सापकोटाले केही समय अघि पाठकलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको थियो । बागलुङका एक एमाले नेताका अनुसार कमिटीमा सम्भव भए सहमतिबाटै र नभएको पदमा चुनावबाट दशबुँदे पक्षधरलाई नेतृत्वमा ल्याइएको छ, यसले पार्टीको विवाद मिलानमा नयाँ सन्देश दिएको छ ।

बागलुङ १० बुँदे पक्षधरको जितको अर्को कारण गण्डकीका दुई नेता पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको प्रतिष्ठाको लडाइँ पनि हो । एक नेताका अनुसार प्रष्ट प्यानल बनेपछि गण्डकीका निवर्तमान मुख्यमन्त्री समेत रहेका पृथ्वीसुब्बा गुरुङले १० बुँदे पक्षधरको टिमलाई साथ दिनुभएको थियो ।
‘एक त शुरुदेखि नै उहाँहरु एकताबद्ध हुनुहुन्थ्यो । त्यसमाथि खगराज कमरेड र पीएस कमरेडको लडाइँले उहाँहरुलाई फाइदा पुग्यो,’ बाग्लुङका एक एमाले नेताले भन्नुभयो ‘पीएस कमरेडले केसीको टिमलाई साथ दिएको पक्का हो ।’

उपाध्यक्ष र सचिवमा पनि दशबुँदे पक्षका नेताहरु क्रमशः लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल निर्विरोध चयन भएका छन् । यस्तै उपसचिवमा गणेशबहादुर थापा र डम्मर छन्त्याल विजयी भएका छन् । उपसचिवका लागि ६ जनाबीच भएको प्रतिस्पर्धामा थापाले २९९ मत ल्याउँदा श्रीसले २२८ मत ल्याएका थिए ।

प्रकाशित मिति २०७८ पुस २६ गते सोमबार ०५:५०
प्रतिक्रिया दिनुहोस्