दातृ निकायको दुई करोड बढी आर्थिक सहयोगमा निर्माण सम्पन्न
निसीखोला गाउँपालिकाको झिवाखोला स्थित प्रभा माध्यमिक बिद्यालय भवनको सोमबार उद्घाटन गरिएको छ । दातृ संस्था गोर्खा वेयलफेयर ट्रस्टको २ करोड ३ लाख आर्थिक सायोगमा १३ कोठाको स्कुल भवन निर्माण सम्पन्न भएको हो ।
गोर्खा पल्टनमा कार्यरतभई निवृक्त भएकाहरुको संगठन वेलफेयर ट्रस्टले देशका विभिन्न स्थानमा विद्यालय भवन निर्माणमा सहयोग गर्दै आएको छ । यसैबीच निसीखोलाको झिवाखोला स्थित प्रभा माध्यमिक बिद्यालयमा गत आर्थिक वर्ष २०७६ असोज ९ गतेदेखि भवन निर्माण सुरुभई २०७७ भाद्र २५ मा निर्माण सम्पन्न भएको भवनको उद्घाटन गरिएको हो ।

फाउण्डेशनका संरक्षक बेलायती नागरिक रब अबरेनर्वीले भवनको उद्घाटन गर्नुभएको हो । शैक्षिक क्षेत्रको विकास र उन्नयनमा ट्रस्टले सहयोग गर्दै आएको बताउँदै ट्रस्टका संरक्षक रबले, आवश्यक परे थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा रहेका गण्डकी प्रदेश साँसद खीमविक्रम शाहीले, दातृ निकायको सहयोगले भौतिक पूर्वाधार निर्माण गर्न सफल रहेपछि शैक्षिक सुधारमा अझै ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
भौतिक पूर्वाधार निर्माणपछि, खुल्ला चौर र धुले माटोमा विद्यार्थी राखेर पढाउनुपर्ने समस्या हटेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश विक्रम शाहीले बताउनुभयो । बोहोरागाउँ घर भई बृटिस आर्मीमा कार्यरत जितबहादुर हमालको सल्लाह र सक्रियतामा ट्रस्टले सहयोग गर्ने वातावरण तयार भएको अध्यक्ष शहीले बताउनुभयो ।
विद्यालयमा कक्षा १ देखि ५ सम्म व्यवस्थित कक्षा व्यवस्थापन भएको छ । प्राथमिक तह र माध्यमिक तहका लागि भिन्नाभिन्नै दुईवटा शैक्षिक लाइब्रेरीको व्यवस्थापन छ । विज्ञान प्रयोगशालाका लागि थप सहयोगको अपेक्षा गरिएको विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले बताउनुभयो । भौतिक पूर्वाधार निर्माण र कक्षा व्यवस्थापनपछि विद्यालयमा विद्यार्थीसंख्या समेत बढ्दै गएको प्रधानाध्यापक आचार्यको भनाई छ ।
स्थानीय निसीखोला गाउँपालिकाले बनाइदिएको पाँचकोठे भवन, ट्रस्टको १३ कोठे भवनमा अहिले कक्षा १देखि ११÷१२ सम्म ७ सय बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालय नजिकै जग्गा व्यवस्थापन गरि ब्याचलर लेवलको क्याम्पस चलाउने लक्ष्य राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहीको परिकल्पना छ ।
उद्घाटन कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, ट्रस्टका डेपुटि फिल्ट अफिसर लेफ्टिनेन्ट यमबहादुर पुन, अफिसर गम थापा, इञ्जिनियर रेशम पुन, सञ्चार अधिकृत शिद्धार्थ गुरुङ, गाउँपालिकाका प्रशासकीय अधिकृत इश्वरलाल शाक्य, वडा नं. ३ का वडा अध्यक्ष जुनविक्रम शाही लगायत स्थानीय विद्यालयका प्रधानाध्यापक, बुद्धिजीवी समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश विक्रम शाहीको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक नवराज आचार्यको स्वागत मन्तव्य तथा सञ्चालन शिक्षकद्धय ईश्वरी अर्याल र भूमिराज आचार्यले गर्नुभएको थियो ।












