सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा पौडेलको जोड
बुर्तिबाङ- त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको निसीखोला सेवा केन्द्रको एक कार्यक्रमको आयोजना बिच आज उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन निसीखोला गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि तारानाथ पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसको प्रभावकारी रुपमा अनुगमन र नियमनमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । थप बोल्दै पौडेलले सरकारको तीनखम्बे अर्थनीतिमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको र सहकारीहरुले पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवा क्षेत्र विस्तार गरी निसीखोला सेवा केन्द्र स्थापना गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष उत्तम बहादुर महतले संस्थाको १५ औं वार्षिक साधारणसभाले अनुमोदन गरेको नीति तथा कार्यक्रम अनुसार निसीखोला सेवा केन्द्र स्थापना गरी कारोबार विस्तार गरेको बताउनु भयो । अध्यक्ष महतले थप बोल्दै निसीखोला सेवा क्षेत्रका संस्थाका शेयर सदस्यको हितलाई ध्यानमा राखी सेवा विस्तार गरिएको र अब यस क्षेत्रका शेयर सदस्यहरुले संस्थामा कारोबार गर्न बुर्तिबामा धाउन नपर्ने बताउनु भयो । उहाँले संस्था विधि र कानुन अनुसार सबैसंग सहकार्य गरी सेवा प्रवाह गर्दै आएको र संस्थागत विकासको लागि सबैको साथ सहयोग अपरिहार्य रहेको बताउँनु भयो । साथै उहाँले सबैलाई फजुल खर्च नगरी बचत गर्ने बानीको विकास गर्न आग्रह समेत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थागत मन्तव्य दिदै संस्थाका सल्लाहकार नवीन जी.सी.ले संस्था स्थापना कालदेखि अहिलेसम्म संस्थाले गरेका आर्थिक प्रगति, संस्थागत विकास, सामाजिक कार्यहरु र सेवा प्रवाहको बारेमा प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेकपा एमालेका जिल्ला सदस्य रुद्र पौडेल र नेपाली काँग्रेस निसीखोला गाउँपालिकाका सचिव राजमन बुढाले शुभकामना मन्तव्य दिनुभएको थियो । यसैगरी उक्त कार्यक्रममा त्रिवेणी वचत तथा ऋण सहकारी संस्था निसीखोला सेवा केन्द्रका संयोजक रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य एवं रेडियो परिवर्तनका प्रबन्ध निर्देशक लोकेन्द्र सुनार, ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक उमानन्द रेग्मी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
वि.सं. २०६४ सालमा बुर्तिबाङमा स्थापना भएको त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अहिले झण्डै १ हजार २ सय शेयर सदस्य रहेका छन् भने ५ करोड ५० लाखभन्दा बढी शेयर पुँजी रहेको छ । अब केही समयपछि दोस्रो सेवा केन्द्रको रुपमा तमानखोलामा पनि सेवा केन्द्र विस्तार गरिने संस्थाले जानाकारी दिएको छ ।
कार्यक्रममा ईलाका प्रशासन कार्यलय बुर्तिबाङका प्रमुख लोक बहादुर कुँवर, त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाका संरक्षक घनश्याम शर्मा, ढालेन्द्र छन्त्याल, लेखा समिति संयोजक नेत्रलाल उपाध्याय, कार्यसमिति तथा विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, शेयर सदस्य, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उत्तम बहादुर महतको अध्यक्षता रहेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष ऋतुवर्ण पौडेलले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव हिरालाल खनालले गर्नुभएको थियो ।















