बागलुङको गलकोट नगरपालिकामा उपप्रमुख महिला उद्यमी अभियान सञ्चालन

बागलुङको गलकोट नगरपालिकामा उपप्रमुख महिला उद्यमी अभियान सञ्चालन
२०७८ माघ ९ गते आईतबार ०८:५९

 गलकोट- बागलुङ जिल्लाको गलकोट नगरपालिकाले उपप्रमुख महिला उद्यम विकास कार्यक्रम सञ्चालन गरेको छ । यो अभियानमा गलकोट क्षेत्रमा कृषि, पशुपालन, होटल व्यवसाय, बुटिक, अन्य उत्पादनसँग जोडिएका महिलाहरुको सहभागिता छ । एक वर्ष अघि देखि नगरउपप्रमुख...

 गलकोट- बागलुङ जिल्लाको गलकोट नगरपालिकाले उपप्रमुख महिला उद्यम विकास कार्यक्रम सञ्चालन गरेको छ । यो अभियानमा गलकोट क्षेत्रमा कृषि, पशुपालन, होटल व्यवसाय, बुटिक, अन्य उत्पादनसँग जोडिएका महिलाहरुको सहभागिता छ ।

एक वर्ष अघि देखि नगरउपप्रमुख रेणुका काउचाको अग्रसरतामा सञ्चालित अभियानमा २० जना महिला उद्यमीहरु व्यवसायिक प्रतिस्पर्धामा उत्रिएका छन् । ‘उप प्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रम’ नाम दिइएको अभियानमा एक सय बढी महिला सहभागी थिए । पेशा व्यवसायमा जोडिएका महिलालाई प्रतिस्पर्धी, उत्पादनशील र अझै बढी सक्रिय बनाउन यो अभियान चालिएको उपप्रमुख रेणुका काउचाले बताउनुभयो ।

अभियानका लागि ग्रामीण उद्यम द्रूतीकरण कार्यक्रमले सघाएको छ । यो कार्यक्रम ग्रामीण क्षेत्रका महिलाको क्षमता बढाउने, उद्यमशील बनाउने र उद्यम गरेकालाई थप प्रोत्साहन दिने उद्धेश्यले सञ्चालित छ । अभियानमा विभिन्न सूचक बनाएर उद्यमी महिलाको प्रतिस्पर्धा गराइएको छ । यसरी गरिने प्रतिस्पर्धामा उत्पादनसहित बोल्ने कलाको विकाससमेत गरिने बताइएको छ ।

यो अभियानबाट महिलाको उद्यमशिलता बढ्ने नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । ‘पहिला सामान्य जस्तो लागेको थियो, उपप्रमुखले ल्याएको कार्यक्रम राम्रो रहेछ,’ गैरेले भन्नुभयो, ‘अहिले यो नमुना कार्यक्रम बनि सकेको छ ।’ परियोजना यस अघि लुम्बिनी प्रदेशमा मात्रै सञ्चालित थियो । अहिले भने गलकोटमा पनि सञ्चालन भएर महिला उद्यमशिलताको विकासमा योगदान पुग्न लागेको उहाँले बताउनुभयो ।

महिला किसानको घरघरमा पुगेर उनीहरुले गरेका कामको मूल्यांकन गर्न नगरपालिकाका जनप्रतिनिधि सहित कर्मचारी र तोकिएका अन्य प्राविधिक खटिएका थिए । उनीहरुले किसानको घरको अवस्थालाई नियालेको बताउनुभयो ।

‘हामीले दुईचार लाख लगानी गरेको मात्र हेरेनौं, उनीहरुको लक्ष्य र काम गर्ने जोशलाई हेरेर मूल्यांकन गरेका थियौं’ परियोजनाका कार्यक्रम संयोजक महेन्द्र घिमिरेले भन्नुभयो, ‘घरभित्रै बसेका महिलाबाट यो जोश र जाँगरले काममा उत्रने कलालाई नै मूल्यांकनमा बढी अंक दिएर अगाडि ल्याएका हौं ।’

महिला उद्यमी छनौटको घोषणा कार्यक्रममा उपप्रमुख काउचाले महिलाको जागरण सहित आर्थिक उन्नतीमा पनि साथ दिने र उनीहरुलाई प्रतिष्पर्धी समेत बनाउने लक्ष्य राखेको बताउनुभयो । उक्त अवसरमा गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विकले किसानको बारीमा पुगेर सूचक भर्दा मात्रै वास्तविक संघर्षको कथा थाहा पाएको भन्दै सबै महिला उद्यमी सम्मान गर्न लायक भएको बताउनुभयो ।

प्रकाशित मिति २०७८ माघ ९ गते आईतबार ०८:५९
प्रतिक्रिया दिनुहोस्