बागलुङको ढोरपाटनमा सम्झौता बिनै काम, नक्कली बिलमा भुक्तानीको प्रयास

बागलुङको ढोरपाटनमा सम्झौता बिनै काम, नक्कली बिलमा भुक्तानीको प्रयास
२०७८ माघ १२ गते बुधबार ०८:०९

बागलुङ- तोकिएको समयमा योजना सम्झौता गर्ने, आर्थिक वर्षभित्र काम सकेपछि मूल्यांकन गर्ने र भुक्तानी दिने प्रक्रिया सामान्यतयाः सबै सरकारी कार्यालयमा छ । स्थानीय तहमा संचालित अधिकांश योजना आर्थिक वर्षभित्रै सक्नुपर्छ । त्यसपछि...

बागलुङ- तोकिएको समयमा योजना सम्झौता गर्ने, आर्थिक वर्षभित्र काम सकेपछि मूल्यांकन गर्ने र भुक्तानी दिने प्रक्रिया सामान्यतयाः सबै सरकारी कार्यालयमा छ । स्थानीय तहमा संचालित अधिकांश योजना आर्थिक वर्षभित्रै सक्नुपर्छ । त्यसपछि भुक्तानी लिइसक्नु पर्छ । तर, बागलुङको ढोरपाटन नगरपालिकाले अघिल्लो वर्षको कामको भुक्तानी दिन चालु वर्षमै सम्झौता गरेको छ ।

ढोरपाटन उपत्यका जाने देउरालीमा सडक निर्माण गर्दाको भुक्तानी दिनको लागि चालु नै सम्झौता भएको हो । चालु वर्ष कामै नगरि ठेकेदारले भुक्तानी मागेका छन् । उनले गत वर्ष योजना सम्झौताबिना सडक निर्माण गरेका थिए । मौखिक आदेशमा काम गरेर भुक्तानी लिनका लागि चालु वर्ष योजना सम्झौता गरिएको रहस्य खुलेको छ ।

मौषमी कन्स्ट्रक्सन प्रालिले गत वर्ष बिना सम्झौता अन्जादी १४ लाखको काम गरेर चालु वर्षका लागि खर्च माग्न सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराइले बताउनुभयो । ‘योजना सम्झौता गर्नु गैरकानूनी हो तर व्यवहारिक समस्या समाधान गर्न सम्झौता भयो’, भट्टराइले भन्नुभयो, ‘कामको मूल्यांकन नभएको रकम भुक्तानी गरेका छैनौं ।’ ठेकेदारलाई पेश्की मात्रै दिएको उहाँले बताउनुभयो ।

ठेकेदारले भने सम्झौता अनुसारको रकम नपाएकोले अन्यायमा परेको बताएका छन् । ठेकेदार तेजेन्द्र थापाले सबै रकमको भ्याट बिल मगाएर भुक्तानी नदिएको आरोप लगाउनुभयो । गत आर्थिक वर्षको बैशाख जेठमा काम गरेर उक्त कन्स्ट्रसनले सडक सम्याउने, चौडा पार्ने र शिकार आरक्षको गेटका लागि फाउण्डेसन बनाएको थियो । थापाका अनुसार उक्त काममा १ सय ९६ घण्टा डोजरसमेत चलाएको रेकर्ड छ ।

ढोरपाटन शिकार आरक्षका वार्डेन बीरेन्द्रराज कंडेल र नगरप्रमुख देवकुमार नेपालीले मौखिक आग्रहकै आधारमा काम गरेर भुक्तानी नपाएको थापाले गुनासो गर्नुभयो । ‘त्यति ठूला मानिसले भनेको पत्याएर काम गरेँ, अहिले म अन्यायमा पारे’, थापाले भन्नुभयो, ‘नगरपालिकाले मलाई ठगेर भ्रष्टाचार गर्ने देखियो ।’ गत असार मसान्तमा सोझै उनी भुक्तानी माग्न जाँदा सम्झौताको कागजात नभएपछि भट्टराइले नयाँ सम्झौता गराउनुभएको थियो ।

कागजी रुपमा कुनै प्रमाण नभएपछि नगरपालिकाले भुक्तानी दिन नमिलेपछि उक्त उपाय लगाइएको थियो । वडा नंं ६ का अध्यक्ष जीवनकुमार पुनले पनि भुक्तानीका लागि दबाव दिएपछि प्रशासकीय अधिकृत भट्टराइले सोही स्थानमा थप केही काम दिएर उनको भुक्तानी दिने योजना बनाएको बताउनुभयो । ‘काम गरेको देखेर केही सम्झौता मार्फत भुक्तानी दिने योजनाले गेट निर्माण तथा सडक स्तरोन्नतिको काममा सम्झौता गरायौं’, भट्टराइले भन्नुभयो,‘अनुगमन मूल्यांकन गर्दा गेट निर्माणको काम पुरा नभएको पाएपछि भुक्तानी दिन सकेनौं ।’

थापाले पेश्की स्वरुप लगेको ३ लाख ३० हजार पनि फरफारक भइनसकेको भट्टराईले बताउनुभयो । चालु वर्षको बजेटमा सम्झौता भएकोले असार मसान्तसम्म थापालाई नगरपालिकाले समय सिमा दिएको छ ।

थापाले नगरपालिका बाट ठगिएको भन्दै गुनासो गर्न थालेका छन् । ‘मैले अघिल्लो बर्षनै १४ लाखको काम गरेको छु, अहिलेसम्म भुक्तानी पाएको छैन’, थापाले भन्नुभयो, ‘मेरो १० लाखको भ्याट बिल लगेर भुक्तानी रोकेका छन् ।’ बील स्वीकार गरेको तर भुक्तानी नदिएकोले नगरपालिकाले कमिसन खोजेको आरोपसमेत उहाँले लगाउनुभयो ।

थापाले ढोरपाटन देउराली गेट निर्माण उपभोक्ता समितिको नामबाट सम्झौता गरेका छन् । ‘पहिला देउरालीमा सडक चिप्लो थियो, गाडी फस्थे, अहिले भने राम्रो भएको छ’, स्थानीय व्यवसायी सुरज पौडेलले भन्नुभयो, ‘पाहुनाले पनि सडक सजिलो भएको भन्दै खुसी भएका छन् ।’ चालु वर्षको बजेटबाट आरक्षले पनि गेट निर्माणको काम थालेको छ ।

गत बर्ष थापाले सडक चौडा पारेपछि आरक्षले चालु वर्ष गेट निर्माण थालेको वार्डेन वीरेन्द्रराज कंडेलले बताउनुभयो । ‘गत वर्षको कुरा अनुसार काम भएको भए थापाले नै गेट बनाउने भन्ने हो तर सम्झौतामा उहाँले काम पुरा नगरेको देखियो’, कंडेलले भन्नुभयो, ‘सडक चौडा र स्तरीय गर्ने क्रम भैरहेकोले आरक्षले गेट बनाउन लागेको छ ।’

नगरपालिकले भने गेटभन्दा अगाडिको खण्डमा मात्रै काम गरेकोले जानकारी नपाएको कंडेलको टिप्पणी छ । ‘गत वर्ष काम गर्ने बेलामा थापासँग केही कुरा भएको हो तर लिखित वा अफिसियल जानकारी हामीलाई आएको छैन’, उहाँले भन्नुभयो, ‘काम गर्ने सन्दर्भमा समन्वयकारी भूमिका मात्रै खेलेको थिएँ ।’

नगरप्रमुख देवकुमार नेपालीले भने सम्झौता र कामको मूल्यांकन अनुसार भुक्तानी दिने बताउनुभयो । ‘जे सम्झौता छ, जस्तो काम छ त्यसैमा भुक्तानी दिने हो, मौखिकका कुरा के भए भन्ने थाहा भएन’,उहाँले भन्नुभयोे । नेपालीले प्रक्रियागत रुपमा काम र भुक्तानी हुनुपर्ने बताउनुभयो । स्रोत- ढोरपाटन न्युज

प्रकाशित मिति २०७८ माघ १२ गते बुधबार ०८:०९
प्रतिक्रिया दिनुहोस्