नेपाल पत्रकार महासंघ धौलागिरी शाखाका संस्थापक संयोजक(२०५७) तथा धौलाश्री अनलाइनका प्रधान सम्पादक विदुर खड्काको निधन भएको छ । पुराना पत्रकार खड्का लामो समयदेखि मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो ।
७९ वर्षका खड्काको आज बिहान काठमाण्डौंमा मृत्यु भएको उहाँका जेठा छोरा तृथेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँको पार्थीव शरिरलाई अन्त्यष्टीका लागि बागलुङ ल्याउदै गरेको र बिहीबार मात्रै अन्त्येष्टी गरिने परिवार स्रोतले जनाएको छ ।
२००० सालमा जन्मनुभएको खड्काले २०२२ सालमा गोरखापत्र दैनिकको संवाददाता भएर पत्रकारिता थाल्नुभएको थियो । खड्काले २०२८ साल असार १७ गतेदेखि बागलुङमा धौलाश्री साप्ताहिक पत्रिका प्रकासन गर्नुभएको थियो ।
उक्त पत्रिकालाई २०५८ सालमा दैनिक बनाइएको थियो । २०६३ सम्म दैनिक प्रकाशित धौलाश्री दैनिक अनलाइनमा परिणत भएको थियो । उक्त धौलाश्री अनलाइन डटकम अहिले सम्म सञ्चालनमा छ । खड्का राजाकालिन समयमा बागलुङ नगरपालिकाको नगरप्रमुखमा निर्विरोध निर्वाचित समेत हुनुभएको थियो ।
पञ्चायतकाल देखि अहिले सम्म पत्रकारितामा निरन्तरको सक्रियता रहेका खड्का धौलागिरीको पत्रकारिताको मार्गदशकको रुपमा रहेको प्राज्ञ प्रेम छोटाले बताउनुभयो । खड्काको निधनले धौलागिरीको सिंगो पत्रकारिता जगतलाई अपुरणीय क्षती पुगेको छोटाको भनाई छ ।
यस्तै खड्का प्रति नेपाल पत्रकार महासँघ बागलुङ शाखाले शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
शोक वक्तव्यमा ‘नेपाल पत्रकार महासँघ धौलागिरी शाखाका संस्थापक संयोजक बिदुर खड्काको ७९ वर्षको उमेरमा असमायिक निधन भएकोले हामीलाई स्तब्ध तुल्याएको छ । यस दुःखद घडीमा उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछौँ ।’ लेखिएको छ ।
गोरखा पत्रको सम्वाददताबाट पत्रकारिता सुरु गरेका उनले बागलुङबाट प्रकाशित धौलाश्री साप्ताहिक, धौलाश्री दैनिक पत्रिकाकोे प्रधान सम्पादक, ई–बागलुङ अनलाईनको प्रधानसम्पादक भएर काम गरेका थिए ।
नेपाल पत्रकार महासँघ बागलुङका सचिव विजय रानाद्वारा निकालिएको शोक वक्तव्यमा खड्काको निधनले बागलुङको पत्रकारितामा अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।
‘नेपाल पत्रकार महासँघ, बागलुङको संस्थापक विकासमा उहाँको उच्च योगदान रहेको छ । लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहनु भएका उहाँको निधनले बागलुङको पत्रकारितामा अपुरणीय क्षतिपुगेको छ । उहाँप्रतिहार्दिक श्रद्धाञ्जली ।’ वक्तव्यमा उल्लेख गरिएको छ ।










