राष्ट्रिय जनमोर्चा असन्तुष्ट पक्षको ढोरपाटन नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्र्न

राष्ट्रिय जनमोर्चा असन्तुष्ट पक्षको ढोरपाटन नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्र्न

संवाददाता

@समय नेपाल

२०७८ चैत १३ गते आईतबार ०८:२१

राष्ट्रिय जनमोर्चाको असन्तुष्ट समूहको ढोरपाटन नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला शनिवार बुर्तिबाङमा सम्पन्न भएको छ । भेलाले आसन्न स्थानीय तहको निर्वाचन सम्बन्धि विभिन्न नीति तथा निर्णयहरु पारित गरेको छ । उक्त भेलामा राष्ट्रिय...

राष्ट्रिय जनमोर्चाको असन्तुष्ट समूहको ढोरपाटन नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला शनिवार बुर्तिबाङमा सम्पन्न भएको छ । भेलाले आसन्न स्थानीय तहको निर्वाचन सम्बन्धि विभिन्न नीति तथा निर्णयहरु पारित गरेको छ ।

उक्त भेलामा राष्ट्रिय जनमोर्चाकी जिल्ला सदस्य दुर्गादेवी घर्तीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घर्तीले पार्टीभित्र सही र सत्य कुरा बोल्दा इमान्दार कार्यकर्ताहरुलाई पार्टी नेतृत्वले पाखा लगाउने काम गरेको भन्दै पार्टीभित्रै असन्तुष्ट र पीडित बन्नुपर्ने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले आसन्न स्थानीय निर्वाचनमा जनताको भावना र विचारलाई कदर गर्दै निर्वाचनमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि एवं ढोरपाटन नगरपालिका वडा नं.४ का वडा अध्यक्ष तिलक पुनले राष्ट्रिय जनमोर्चाको नेतृत्व मण्डलीले पार्टीभित्रका इमान्दार कार्यकर्ताहरुलाई पार्टीभित्र फरक विचार राखेकै आधारमा विभिन्न झुटा आरोप लगाएर अनेकौं हर्कत गर्नुका साथै कार्वाही गरी किनारा लगाएको आरोप लगाउनु भयो । उहाँले पार्टी संसदीय अवसरवादी प्रवृत्तिमा लिप्त भई दक्षिणपन्थी दिशातर्फ जान लागेकाले सच्चा र इमान्दार पार्टी कार्यकर्ताहरुले पार्टी नेतृत्वको स्वेच्छाचारी र गलत प्रवृत्तिलाई रोकी पार्टी पुनरनिर्माणमा लाग्नु पर्ने बेला आएकाले सबै एक भएर लाग्नुपर्ने बताउनु भयो । साथै उहाँले आगामी स्थानीय निर्वाचनमा पार्टी अस्तित्वको रक्षा गर्न र जनभावनाको कदरका लागि निर्वाचनमा सक्रिय सहभागिता जनाउने बताउनु भयो ।

उक्त भेलामा पार्टी संगठन र वर्तमान राजनीतिक अवस्थाको वारेमा ढोरपाटन नगरपालिकाका सबै वडाहरुको वडास्तरीय रिपोर्टिङ प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङकी सदस्य तारा कुमारी पुन, ढोरपाटन नगर कार्यपालिका सदस्य कमला छवी वि.क, वडा नं. २ का वडा सदस्य प्रेम चालिसे, शिक्षक मोर्चाको तर्फबाट बोम बहादुर बुढा, भीम पुन, साविक अधिकारीचौर गाविसका पूर्व उपाध्यक्ष भानसिंह बुढा, अखिल नेपाल युवक संघका जीवन घर्ती, तिलक बुढा लगायतले मन्तव्य दिनुभएको थियो ।

उक्त भेलाले आगामी स्थानीय निर्वाचन सम्बन्धि नीति पारित गरेको छ । जसअनुसार निर्वाचनमा विजय हासिल गर्नका लागि स्थानीय अन्य राजनीतिक दलहरुसंग समेत तालमेल तथा गठबन्धन गरेर जान सक्ने र तालमेल हुन सक्ने स्थिति नआएमा मेयर उपमेयर सहित एकल प्यानल समेत खडा गरेर उम्मेदवारहरु उठाउने निर्णय गरेको छ ।

साथै भेलाले अन्य राजनीतिक दलहरुसंग चुनाबी गठबन्धनका लागि बार्ता र छलफलका लागि तिलक पुनको संयोजकत्वमा ३ सदस्यीय बार्ता टोली चयन गरेको छ भने तिलक पुनकै संयोजकत्वमा १७ सदस्यीय मूल निर्वाचन परिचालन समिति समेत चयन गरिएको छ ।

राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिका सदस्य धन बहादुर खत्रीको अध्यक्षता रहेको उक्त भेलामा तिलक बुढाको स्वागत मन्तव्य रहेको थियो । भेलामा १ सयभन्दा बढी अगुवा कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०७८ चैत १३ गते आईतबार ०८:२१
प्रतिक्रिया दिनुहोस्