जन्मदर्ता सहित बाबुआमाको नागरिकता पेस गरेकी बागलुङ नगरपालिका–१२ अमलाचौरकी एक युवतीले नागरिकता बनाउन सक्नुभएन । ८ दिनदेखि प्रशासन धाउँदा पनि उहाँ नागरिकना नबन्दा दिग्दार भएको बताउनुभयो ।
आमाको नागरिकतामा बाबुको नाम नचढाएको र बाबुको निवेदन नआएको भन्दै प्रशासनले नागरिकता नदिएपछि बागलुङ नगरपालिका–१२ अमलाचौरकी अल्सा बेगमले नेपाली नागरिकताको प्रमाणपत्र नपाउनुभएको हो । उहाँ काठमाडौंको पद्मकन्या क्याम्पसमा बीएएलएलबी अध्ययनरत हुनुहुन्छ । छात्रवृत्तिका लागि उहाँलाई नागरिकता आवश्यक भएपछि बनाउन आउनुभएको थियो । ८ दिनदेखि आमा तायरा बेगम र उहाँ होटलमा बसिरहेको जनाईएको छ ।
बेगमका बाबु १४ वर्षयता बेपत्ता हुनुहुन्छ । खर्च र समयको बर्बादी भए पनि प्रशासनले भने आमाको नागरिकतामा बाबुको नाम चढाउनुपर्ने, त्यसका लागि बाबुको निवेदन चाहिने भन्दै फर्काउने गरेको छ । उहाँका बाबु कहाँ हुनुहुन्छ भन्ने पत्तो छैन ।
‘म सानो छँदैमा हराउनुभएको रहेछ, अहिलेसम्म भेटेका छैनौं,’ बेगमले भन्नुभयो ‘बाबु हराएको भन्ने वडा मुचुल्का पनि बनाएका छौं, तर प्रशासनले नागरिकता दिन मानेन ।’ आमाको नाउँमा नागरिकता बनाउन पाउने व्यवस्था भए पनि नपाएको उहाँले गुनासो गर्नुभयो ।
बेगमकी आमाले विवाह अघि नागरिकता बनाएको, विवाहपछि नाम नचढाएकोले छोरीले यो सास्ती खेप्न परेको हो । प्रमुख जिल्ला अधिकारी रमेश ढकालले कागजात पुगेको भए नागरिकता बन्नुपर्ने बताउनुभयो । ‘म कहाँ आइपुगेको छैन, नागरिकता फाँटबाटै केही अप्ठेरो पारिएको भए म खोजी गर्छु,’ ढकालले भन्नुभयो, ‘शंकास्पद भएमा अनुसन्धान गर्ने, वडा र प्रहरीको मुचुल्का चाहिने प्रावधान छ ।’










