बागलुङ जिल्लामा क्रियाशिल पाँच राजनीतिक दलले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका छन् । सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा –एकिकृत समाजवादी) र जनता समाजवादी पार्टीले गठबन्धन गरेर जाने सहमति गरेका हुन ।
केन्द्रको निर्देशन अनुसार गठबन्धन गरेर जाने सहमति गरेको नेपाली काँग्रेस बागलुङका पार्टी सभापति जित शेरचनले बताउनुभयो । जिल्लाका १० वटै पालिका र सबै वडाहरुमा चुनावी गठबन्धन गर्ने सम्झौता भएको नेकपा माओवादी केन्द्रकी बागलुङ ईन्चार्ज बलावति शर्माले बताउनुभयो । राष्ट्रिय जनमोर्चाका राजेन्द्र ढुङ्गानाले गठबन्धन विवादरहीत ढङ्गले टुङ्गाउने गरि तयारी भईरहेको बताउनुभयो ।
नेकपा (एकिकृत) समाजवादी पार्टीका केन्द्रिय सदस्य रामजी शर्माले बिगतमा गठबन्धनका प्रयासहरु सफल भएको बताउँदै पाँच दल एक ठाउँमा उभिएर चुनाव लड्ने कुरा महत्वपूर्ण भएको बताउनुभयो । बैठकले वडा तहसम्मको अवस्था बारे प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट एक–एक जना सदस्य रहने गरि पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा नेपाली काँग्रेसका पार्टी सचिव हरिहर शर्मा, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष तथा जिल्ला संयोजक ज्ञामनाथ गैरे, राष्ट्रिय जनमोर्चाका सचिव भिमलाल पोख्रेल, नेकपा (एकिकृत समाजवादी) पार्टीका गोविन्द गौतम, जनता समाजवादी पार्टीका कृष्ण प्रसाद शर्मा रहेका छन् । कार्यदलले वडा तहसम्म अध्ययन गरी आगामी २२ गते भित्र केन्द्रमा प्रतिवेदन बुझाउने छ ।
स्थानीय तहको निर्वाचनमा महिला प्रमुखको चर्चा कम
बैशाख ३० गतेकालागि तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आफ्नो माताहातका ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने काम देखि निर्वाचनका लागि आबस्यक कर्माचारी, निर्वाचन अधिकृतहरुको नियुक्ती र सामग्रीको जोहोसम्मका काम गरिरहेको छ ।
आयोगले जस्तै दलहरुले पनि पाँच बर्षसम्म नचलेका पार्टीका काम, संगठन र भेला, बैठक तथा सभाहरुलाई तिब्र बनाएका छन् । निर्वाचन नजिकिँदै गर्दा बागलुङमा सरगर्मी बढेको छ । खेतला देखि, सडकका चोक, पसल तथा गाउँघरमा हुने भेटघाटमा समेत सम्भावित उमेद्वारको चर्चा र टिप्पणी सुरु भएका छन् ।
सबै तिर उमेद्वारको चर्चा चुलिँदा पुरुषहरकै नाम अघि छ । अघिल्लो निर्वाचनमा महिला प्रमुख सुन्य रहेको बागलुङमा यसपटक पनि सोही अबस्था आउनेगरी चर्चाहरु सुरु भएका छन् । यद्यपी राजनीतिक दलहरुले उम्मेदवारको टुंगो भने अहिलेसम्म लगाउन सकेका छैनन् । दलहरूले अन्तिम उम्मेदवारको नामावली सार्वजनिक नगरे पनि स्थानीय तहहरूमा वडादेखि प्रमुखसम्मका नाम कार्यकर्ताहरुले ल्याउन थालेका छन् ।
कतिपयले पुरानैलाई पुनः दोहो¥याउने मनशायले चर्चा चलाएका छन् भने कतिपयले नयाँ र अनुभव भएकालाई मौका दिनुपर्ने सम्मका छलफल चलाउन थालेका छन् । सबै दलहरूबीच चर्चा र छलफलको निष्कर्ष समान भए पनि विषय, लैंगिकता र व्यक्तिबारे विविधता देखिएको छ । बागलुङका दश स्थानीय तहमध्ये अघिल्लो निर्वाचनको समयमा ६ वटा मात्रै स्थानीय तहमा महिला उपप्रमुख भएका छन् । प्रमुख र उपप्रमुख मध्ये एक जना महिला अनिवार्य हुनुपर्ने कानूनी व्यवस्था भएपनि तालमेल र गठबन्धनका नाममा दलहरुले कानुन समेत छल्न दुई दलका फरक फरक उमेद्वारहरुलाई उठाएर दुवै पदमा पुरुषनै आउने वातावरण बनाए । फलःस्वरुप चारवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पुरुष नै छन् ।
यस पटकको निर्वाचनमा पनि सम्भावित उम्मेदवारका नामको सूचीमा महिलाको नाम निकै कम सुनिने गरेको छ । त्यसमा मुख्य पदका लागि झन् महिलाको नाम र चर्चाको विषय नै बन्न सकेको देखिँदैन । यहाँ क्रियाशिल रहेका दलहरुका केही महिना पहिला भएका अधिबेशनहरुबाट नेतृत्व छनोट गर्दा कुनैपनि दलबाट पालिका प्रमुखमा महिलालाई जिम्मेबारी दिईएको छैन् । दलभित्रै महिलालाई नेतृत्व दिन हिच्कीचाएका दलहरुले स्थानीय तहको नेतृत्वमा महिला ल्याउनेसम्भावना काम देखिनु अर्को कारण हो ।
यहाँ कृयाशिल रहेका ठुला दलका महिला नेतृहरुले बहश र छलफल थालेका छन् । तर उनीहरुले थालेको बहस र छलफललाई नजिकबाट नियालेरपनि नजरअन्दाज गरिरहेका दलहरुका उमेद्वार महिला हुनेमा विश्वस्त हुने ठाउँ छैन् । समावेशीका हिसावले बागलुङमा अघिल्लो पटक दलित, जनजातीको उपस्थिती देखिएको थियो । दलित समुदायबाट नगरप्रमुख बनेका देवकुमार नेपाली र मगर समुदायको बाहुल्य रहेको बागलुङमा प्रमुख र उपप्रमुख गरेर ११ जना जनजाती समुदायका उमेद्वारले चुनाव जितेका थिए ।
बागलुङमा अघिल्लो निर्वाचनमा ८५ वडा मध्ये दुई वटा वडामा मात्रै महिला उमेद्वारले जितेका थिए । यस पटकको निर्वाचनमा वडामा समेत एकाद बाहेक नेतृत्वमा महिला उमेद्वारको चर्चा कम छ । ‘महिलालाई उप र चुपमा मात्रै ल्याउने प्रबृत्तिका बिरुद्ध एकताबद्ध भएर जाने भनेका छौं’ बागलुङका कृयाशिल दलहरुका प्रभावशाली नेतृहरुको छलफल पछि नेकपा माओवी केन्द्रकी नेतृ कुशुम बुढाले भन्नुभयो स्थानीय तहको नेतृत्वमा अब महिलाको सहभागिता बढाउन दलहरु लाग्नु पर्छ ।’
अबसर पाए महिलाले पनि नेतृत्वगर्न सक्ने भन्दै महिलाहरुले सार्वजनिक समारोहहरुमा भाषण गर्न थालेका छन् । ‘हामिले जे गरिरहेका छौं, त्यो नै नेतृत्व पाउनका लागि काफि छ’ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्नहरुको जवाफ दिएपछि ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले अब नेतृत्वगर्न महिला अघि आउनै पर्ने संकेत गर्नुभएको थियो ।










