हात्तिपाइले लगायतका जटिल रोग देखिएपछि बागलुङको बलेवा र कुश्मीसेरा क्षेत्रमा लामखुट्टे नियन्त्रण प्रयास थालिएको छ । बागलुङ नगरपालिका–१४ को नारायणस्थान र जैमिनी नगरपालिका–१ को कुश्मीसेरामा वडा टोलपिच्छे सरसफाई अभियान र खाल्डा पुर्ने समेतको अभियान शुरु भैसकेको नारायणस्थान स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो ।
लामखुट्टेबाट सर्ने जापनिज इन्सेफ्लाइट्स, मलेरिया, डेंगु र कालाजार लगायतका रोग बलेवा क्षेत्रमा देखिएको स्वास्थ्यकर्मीको भनाई छ । यस्ता रोगले हरेक वर्ष जनस्वास्थ्य सुरक्षामा लाखौं लगानी भैरहेको छ । जनस्वास्थ्य समस्याको रुपमा पनि देखिएकोले स्वास्थ्यकर्मी चिन्तित छन् । यी दुवै वडा कालीगण्डकी किनार नजिक, एकै हावापानीमा छन् । एकआपसमा जोडिएका छन् ।
यो वर्षपनि भेटिएका हात्तिपाइलेका रोगीमध्ये आधाबढी नारायणस्थानका छन् । त्यसपछि कुश्मीसेरामा भेटिएका छन् । अन्य रोगको जोखिम यहींबाट बढेपछि जनस्वास्थ्य सरोकारको विषय बनेको हो । ‘सबै प्रकारका रोगको संक्रमण हुन सक्ने स्थान भएकोले संभव हुने सम्मको संयन्त्र प्रयोग गरेर नियन्त्रण र निवारण प्रयास शुरु भएको छ’ बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले भन्नुभयो, ‘हात्तिपाइलेको औषधी खाएको अनिवार्य कार्ड बनाउने, अन्य रोग नियन्त्रणमा पनि अनिवार्य सहभागि बन्नुपर्ने प्रावधान तोकिएको छ ।’
यो अभियानअन्र्तगत खाल्डाखुल्डी पुर्ने, फोहोर तथा सफा पानीका पोखरी पुर्ने काम समेत शुरु भएको उहाँले बताउनुभयो । नारायणस्थानमा मात्रै १६ वटा टोलमा रहेका आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका र अन्य युवा क्लब परिचालन गरेर रोगबारे तालिम दिइएको शर्माले बताउनुभयो । केही दिनदेखि स्वास्थ्य कार्यालयभन्दा टोल टोलमा पुगेर सेवा प्रवाह गर्ने र अभियान चलाउने काममा उनीहरु खटिएको वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । ‘वडाबाट केही बजेट परिचालन गरेर उनीहरुको खाजा खर्च व्यहोरेका छौं’ खत्रीले भन्नुभयो, ‘वडाको बजेटले महामारी निवारण तथा लामखुट्टे नियन्त्रण संभव भएको छैन ।’
यहाँ अनुकुल वातावरण भएकोले हरेक प्रकारका लामखुट्टे भेटिने गरेको खनालको भनाई छ । ‘क्युलेस प्रकारको लामखुट्टेले हात्तिपाइले, एनाफेली नामक लामखुट्टेले मलेरिया र आदेश नामक लामखुट्टेले डेंगु सार्ने अध्ययनले देखाएको छ’ खनालले भन्नुभयो ‘यस्ता सबै रोग सार्ने लामखुट्टे यहाँ भेटिएका छन् ।’
जनस्वास्थ्य समस्या देखिएपछि घरघरमा पुगेर सरसफाइबारे चेतना दिने, प्रत्येक घरका नागरिक सहभागि भएर खाल्डाखुल्डी र फोहोर पानीका आहाल पुर्ने काम भैरहेको शर्माको भनाई छ । ‘दिनभर सबैलाई काममा लगाएर सरसफाइ अभियान चलाएका छौं’ शर्माले भन्नुभयो, ‘समूहका बैठकमा पनि गृहकार्य दिएर पुरा गर्न लगाएका छौं ।’ काममा खटाइएका मानिसलाई खाजा खुवाउने पैसा समेत नभएर अप्ठ्यारो परिरहेको उहाँले गुनासो गर्नुभयो ।
प्राविधिक रुपमा समेत दक्ष स्वास्थ्य कर्मी अभाव भएपछि गाउँमा भएका जनस्वास्थ्यका विद्यार्थी समेत झिकाएको उहाँले बताउनुभयो । हरेक प्रकारका रोगको लक्षण देखिएपछि महामारी रोग नियन्त्रण तथा किटजन्य रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यहाँ ९ प्रकारका रोग सार्ने लामखुट्टे भेटिएको थियो ।
ढोरपाटन न्युज










