बुर्तिबाङ- आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि वातावरण र स्वास्थ्यबीचको अन्तर सम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ मनाइँएको छ ।
स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा आज ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा यस क्षेत्रका सञ्चारकर्मी र विभिन्न स्वास्थ्य केन्द्रमा आवद्ध स्वास्थ्यकर्मीको बिच अन्तरक्रिया कार्यक्रम सम्पन्र्न भएको हो । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले स्वच्छ र हरित वातावरणको प्रवर्द्धनमा आवश्यक योगदान गर्न आवश्यक रहेको तमानखोला गाउँपालिका स्वास्थ्य संयोजक तिल बहादुर छन्त्यालले बताउनुभयो ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको अध्यक्षता रहेको कार्यक्रममा स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्री,तमानखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तिल बहादुर छन्त्यालले समग्र विषय बस्तुमाथि स्पष्ट पार्नुभएको थियो ।नेपालमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोप–बाढी, खडेरी, अत्यधिक गर्मी तथा असुरक्षित पानीको प्रयोगले विभिन्न रोगको जोखिम बढेको छ ।
पत्रकारहरुले सञ्चार माध्यम मार्फत दिने सन्देश र स्वास्थ्यकर्मीले निभाउनुपर्ने भुमिकाको बारेमा सामुदायिक रेडियो परिवर्तनका स्टेशन प्रमुख राम सुवेदीले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन भने देव प्रकाश घिमिरेले गर्नुभएको थियो ।
नेपालमा बर्सेनि वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजन्य रोगका कारण २७ हजारभन्दा धेरैको अकालमै ज्यान जाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष विश्वभर १३ लाखभन्दा धेरै मानिसको मृत्यु नियन्त्रण गर्न सकिने वातावरणीय कारणले हुनेगर्छ ।
विश्वमा १० मध्ये नौ जनाले प्रदूषित हावामा श्वास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ । विश्वमा दुई अर्ब मानिस सुरक्षित पिउने पानी र ३ दशमलव ६ अर्ब मानिस सुरक्षित सरसफाइको अभावमा छन् । हरेक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखालाबाट आठ लाख २९ हजार मानिसको ज्यान जाने गरेको छ ।














