आर्थिक संकटमा क्याम्पस
बागलुङ- जिल्लाको पश्चिम बुर्तिबाङमा रहेको निसिभुजी जनता क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा शुक्रबार बिहान तालाबन्दी गरेका छन् ।
क्याम्पस प्रशासनले विद्यार्थीसँगबाट मनोमानी रुपमा शुल्क असुलेको आरोप लगाउँदै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । उनिहरुले क्याम्पस ब्यबस्थापन समिति उपस्थित नभएसम्म ताला नखोल्ने चेतावनी समेत दिएको जनाईएको छ । उनीहरुले क्यामपसले मनपरि बढाएको शुल्कले आम विद्यार्थी समस्यामा परेको भन्दै शुल्क घटाउनुपर्ने माग समेत गरेका छन् ।
केहि समय यता क्याम्पसमा पढाई हुने विभिन्न विषय समेत हटाएको,पढाई नियमित नभएको,पटक पटक विद्यार्थीले भन्दा समेत बेवास्था गरेको हुदाँ आज केहि विद्याथीले तालाबन्दी गरेको उल्लेख गरिएको छ ।
आर्थिक संकटमा क्याम्पस
वि.सं. २०४८ साल अगाडी पश्चिम बागलुङमा उच्च शिक्षा पढ्ने कुनै पनि क्याम्पस थिएन । निसी, भूजी र तमानका हजारौँ विद्यार्थी उच्च शिक्षा अध्ययनकाका लागि जिल्ला सदरमुकाम तथा अन्य जिल्लामा जानु पर्ने बाध्यता थियो । यस क्षेत्रमा क्याम्पस नहुँदा सयौँ विद्यार्थी उच्च शिक्षा पढ्नबाट वञ्चित थिए । वि.सं. २०४८ सालमा निसीभूजी जनता क्याम्पस स्थापना भएपछि यहाँका विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्ने सुनौलो अवसर मिल्यो । माध्यमिक तह अध्ययनपछि विद्यालय छोडेकाहरु पनि भर्ना हुन थाले ।
हुने खानेका छोरीछोरी ठूलाठूला शहरमा गएर उच्च शिक्षा अध्ययन गर्ने गरेकोमा बुर्तिबाङमा यो क्याम्पस स्थापना भएपछि समान्य परिवारका विद्यार्थीहरु पनि खर्च बोकेरै पनि ग्रामीण क्षेत्रबाट पढ्न झर्न थाले । ३० वर्ष देखि नै उच्च शिक्षा पढ्न टाढा जानु पर्ने अवस्थाको अन्त्य भएपछि गरिब परिवारका विद्यार्थीले पनि उच्च शिक्षा पढ्ने अवसर मिल्यो । यहाँ खासगरी न्यून अवस्थाकै विद्यार्थीहरु बढी भएको पाइन्छ । लामो समयदेखि क्याम्पसमा आर्थिक समस्या पर्दै आएको छ ।
सरकारले क्याम्पस प्रति खास्सै चासो नराख्दा क्याम्पसमा आर्थिक संकट पर्दै आएको एक प्रध्यापकले बतानुभयो । क्याम्पस स्थापना गर्ने बेलामै जनस्तरबाटै संचालन गर्ने गरि स्थापना गरेको भन्दै उहाँले सरकारबाट सहयोग हुन नसकेको बताउनुहुन्छ । तीन दशक अगाडीदेखि पठनपाठन हुँदै आएको क्याम्पस जनस्तरबाटै संचालन हुँदै छ । जनस्टरबाट आर्थिक संकलन हुन नसके ठूलो समस्या पर्ने उहाँको भनाई छ ।
क्याम्पस संचालनका लागि विभिन्न समयमा धान्याञ्चल लगाय विभिन्न कार्यक्रम गरि आर्थिक व्यवस्थापन गर्दै आएको उहाँको भनाई छ । ‘क्याम्पस नितान्त जनस्तरबाट संचालन भएको छ, सरकारले चासो नराख्दा आर्थिक समस्या पर्दै आइरहेको छ,’ ति प्राध्यपकले भन्नुभयो ‘क्याम्पस चलाउनका लागि समय–समयमा विभिन्न आर्थिक अभियानका कार्यक्रमहरु गर्ने गरेका छौँ ।’ तर केहि संस्था,व्यक्तिले दिन्छु भनि बोलेका चन्दा समेत समयमै नदिदाँ समस्या सिर्जना भएको छ ।
त्रिभुवन विश्व विद्यालय अन्तरगतको यस क्याम्पस स्नातक तहसम्म पढाइ हुँदै आएको छ । क्याम्पसमा हाल १३० जना विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा मानविकी र शिक्षा र व्यवस्थापन शंकायमा पढाइ हुँदै आएको छ । क्याम्पसको आम्दानीको स्रोत अरु केही नभएको भन्दै विद्यार्थीबाट शुल्क उठाएरै क्याम्पस चलेको ति प्राध्यापकले बताउनुभयो ।
मासिक साढे चार लाख हुने खर्च हुने गरेको क्याम्पसको आम्दानी मासिक तीन लाख मात्रै रहेको प्रशासनले जनाएको छ । क्याम्पसले मासिक डेढ लाख घाटा ब्यहोर्दै आएको बताइएको छ । सरकारी निकायबाट चालु खर्च तर्फ सहयोग नहुँदा क्याम्पस संचालन गर्न निकै गाह्रो भएको बताइएको छ । आर्थिक समस्याका कारण २३ प्राध्यापकले १५ महिनादेखि तलब नपाएको एक प्राध्यापकले गुनासो गर्नुभयो । क्याम्पसमा हाल ३० प्राध्यापक कार्यरत रहेका छन् ।











