लामो समयको कसरतपछि गठबन्धनका पाँच दलहरूले बागलुङमा भागबन्डा मिलाएका छन्।
हरेक जिल्लामा जस्तो बागलुङमा पनि भागबन्डा बाँडफाँडमा सकस देखिँदा गठबन्धन नै टुट्ने हो कि? भन्ने आशङ्का उत्पन्न भएको थियो। तर गठबन्धनका दलहरूले मनोनयनको अन्तिम सोमबार जुनसुकै हालतमा पनि कि त गठबन्धन की त एक्लै लड्ने निधो गर्नै पर्ने थियो। त्यही अवस्थामा आइतबार राती अबेर सम्मको आपसी वार्ताबाट भागबन्डा मिलेको हो।
सहमतिअनुसार बागलुङ नगरपालिकामा नगरप्रमुख नेपाली कांग्रेसले र उपप्रमुख नेकपा माओवादी केन्द्रले पाएका छन्। वडा नम्बर १, ३, ६, ७, ८, ९, ११, १३, १४ मा कांग्रेसका उम्मेदवारहरु वडाध्यक्ष बन्नको लागि लड्ने भएका छन् भने वडा नं. २, ५ र १० को वडाध्यक्ष नेकपा एकीकृत समाजवादी भिड्ने भएको छ। वडा नं. ४ मा भने माओवादी केन्द्रले र वडा नं. १२ मा राष्ट्रिय जनमोर्चाले वडाध्यक्षको टिकट पाएका छन्।
ढोरपाटन नगरपालिकाको प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसबाट उम्मेदवार चयन गरिएको छ। वडा नम्बर १ र ६ को वडाध्यक्षमा कांग्रेस, वडा नम्बर २, ३, ४ र ७ को वडाध्यक्षमा राष्ट्रिय जनमोर्चा, वडा नम्बर ५ र ८ माओवादी केन्द्र तथा वडा नम्बर ९ मा नेकपा एसले वडाध्यक्षको टिकट पाएका छन्।
जैमिनी नगरपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चाले पाउँदा उपप्रमुख कांग्रेसले पाउने भएको छ। वडा नम्बर ९ र १० को वडाध्यक्ष जनमोर्चालाई, वडा नं. ३ र ६ को वडाध्यक्ष माओवादीलाई, वडा नं. ४ नेकपा एसलाई तथा वडा नं. १, २, ५, ७ र ८ वडाध्यक्ष नेपाली कांग्रेसलाई दिने निर्णय भएको छ।
गलकोट नगरपालिकाको प्रमुखसहित वडा नं. २, ३, ४, ५, ८ र ९मा नेपाली कांग्रेस तथा माओवादीले उपप्रमुख सहित वडा नं. ६ र ७ को वडाध्यक्ष दिइएको छ। जहाँको वडा नं. १ र ११ मा जनमोर्चाको भागमा परेको छ।
यस्तै, बरेङ गाउँपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चाले पाउँदा उपप्रमुख नेपाली कांग्रेसलाई तथा वडा नम्बर १ र २ जनमोर्चालाई, वडा नं. ४ माओवादीलाई र वडा नं. ५ कांग्रेसलाई दिने सहमति भएको छ। काठेखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले र उपप्रमुखमा जनमोर्चाले उम्मेदवार खडा गर्ने छन्। वडा नं. १, २ ,५, ६ र ८ मा नेपाली कांग्रेसले नेतृत्व गर्दा वडा नं. ३ नेकपा एसलाई, वडा नं. ४ जनमोर्चालाई र वडा नं. ७ माओवादीलाई परेको छ।
ताराखोला गाउँपालिकाको प्रमुखमा माओवादीले र उपप्रमुखमा कांग्रेसले उम्मेदवारी दिने छन् भने त्यहाँका सबै वडामा माओवादीले नेतृत्व गर्ने भएको छ। वडिगाड गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुख पाउँदा जनमोर्चाले उपप्रमुख पाएको छ। वडा नम्बर १ र ८ वडाध्यक्षमा जनमोर्चाबाट, वडा नम्बर ४ र १० वडाध्यक्षमा माओवादीबाट तथा वडा नं. २, ३, ५, ६, ७ र ९ मा नेपाली कांग्रेसबाट उम्मेदवार हुने भएका छन्।
निसीखोला गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार हुने भएका छन्। वडामा कांग्रेस, जनमोर्चा र माओवादीले पहिले जीतेका वडामा आ–आफ्ना उम्मेदवार बनाउने सहमति भएको छ।
तमानखोला गाउँपालिकाको प्रमुखमा कांग्रेसबाट उम्मेदवारी दिने सहमति भएको छ। त्यहाँको उपप्रमुखमा नेकपा एसका उम्मेदवार भिड्ने छन्। यस्तै वडा १, २ र ४ माओवादी केन्द्रलाई तथा वडा नं. ३, ५ र ६ कांग्रेसको भागमा परेको छ।










