वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनको लागि सोमबार उम्मेदवारी दर्ता गरिएको छ। आईतबार र सोमबार दुई दिनका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिए पनि आईतबार अधिकांश निर्वाचन अधिकृतको कार्यालय सुनसान रहे।
सोमबार दिउँसोसम्म पनि खाली जस्तै रहेका निर्वाचन कार्यालयहरुमा दिन ढल्नेबेला भिड हुन थालेको हो। गठबन्धन दल नेकपा एमालेले सोमबार दिउँसोसम्म उम्मेदवारको टुंगो लगाउन नसक्दा साँझमा निर्वाचन अधिकृतको कार्यालयलाई धपेडी भएको छ। सोमबार अन्तिम दिन भएका कारण पनि उम्मेदवारी दर्ता गराउनको अहिले साँझ भिडभाड रहेको छ। बागलुङमा पाँच दलिय सत्ता गठबन्धन र नेकपा एमालेको राप्रपासंग गठबन्धन भएको छ।
बागलुङ नगरपालिकामा गत स्थानीय निर्वाचनकै प्रतिस्पर्धीबीच पुन नगरप्रमुखमा प्रतिस्पर्धा हुने भएको छ। बागलुङ नगरपालिकामा पाँच दलिय गठबन्धनबाट नेपाली काँग्रेसका बसन्तकुमार श्रेष्ठले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। उनी गत स्थानीय निर्वाचनमा पनि नेपाली काँग्रेसबाट उम्मेदवार बनेका थिए। राप्रपासंग गठबन्धन गरेको नेकपा एमालेबाट हालका नगर प्रमुख जनकराज पौडेल पुनः नगरप्रमुखमा उम्मेदवार बनेका छन्।
गत स्थानीय निर्वाचनमा राप्रपा र राष्ट्रिय जनमोर्चालाई समेत साथ लिएर नगरप्रमुखमा पौडेल निर्वाचित भएका थिए। नगर उपप्रमुखमा पाँच दलिय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजु खड्का र एमाले राप्रपा गठबन्धनबाट राप्रपाका सञ्जय खड्का उम्मेदवार बनेका छन्। नेकपा एमालेबाट उपप्रमुख टिकट पाएकी पवित्रा रोकाले राप्रपासंगको गठबन्धनपछि उम्मेदवार दर्ता गर्न पाईनन्। अन्य केही साना दल र स्वतन्त्र उम्मेदवारी दर्ता भए पनि मुख्य प्रतिस्पर्धा यीनै बीच हुनेछ।
जिल्लाको जैमिनी नगरपालिकामा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन मेयरमा उम्मेदवार बनेका छन्। उनी गत स्थानी निर्वाचनमा काँग्रेस उम्मेदवार ईन्द्रराज पौडेलसंग थोरै मतान्तरले मात्रै पराजित भएका थिए। नेकपा एमालेबाट हालका उपमेयर लिला राना मेयरमा उम्मेदवार छन्। उपमेयरमा नेपाली काँग्रेसबाट हरिहर शर्मा उम्मेदवार बनेका छन्। उनी नेपाली काँग्रेस बागलुङका सचिव पनि हुन्।
उपमेयरमा भने सोमबार मात्रै एमाले प्रवेश गरेर नेपाल महिला संघ बागलुङकी सचिव एवं गण्डकी प्रदेश महाधिवेसन प्रतिनिधि उषा पौडेल उम्मेदवार बनेकी छिन्। जिल्लाको गलकोट नगरपालिकामा पाँच दलिय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका भरत शर्मा गैले नगरप्रमुखमा उम्मेदवारी दिएका छन्। उनी हालका मेयर हुन्। नेकपा एमालेका तर्फबाट पूर्ण काउचा नगरप्रमुखको उम्मेदवार बनेका छन्। गठबन्धनले उपमेयरमा नेकपा माओवादी केन्द्रका फमलाल निउरेलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेबाट जिल्ला समन्वय समिति बागलुङकी सदस्य रुपा विक उपमेयर उम्मेदवार बनेकी छिन्।
ढोरपाटन नगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता चन्द्र अर्याल मेयरको उम्मेदवार बनेका छन्। उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नगर सभापति धनबहादुर कायत कल्याण उम्मेदवार छन्। नेकपा एमालेले हालका नगरप्रमुख देवकुमार नेपालीलाई उम्मेदवार बनएको छ। उपप्रमुखमा पनि हालकै उपप्रमुख करमती पुनलाई टिक दिईएको छ।
काठेखोला गाउँपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि राजु थापा अध्यक्षका उम्मेदवार बनेका छन्। उनी साविक तंग्राम गाविसका पूर्व गाविस अध्यक्ष हुन्। गठबन्धनकै उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाकै तिलक थापा उम्मेदवार बनेका छन्। नेकपा एमालेबाट डिलबहादुर कार्की गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धामा छन्। उनी एमाले काठेखोला गाउँ समिति अध्यक्ष हुन्। उपाध्यक्षमा एमालेले कोपिला पुनलाई उम्मेदवार बनाएको छ।
बडिगाड गाउँपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसकी गण्डकी थापा अधिकारीले अध्यक्षको उम्मेदवारी दर्ता गरेकी छिन्। उनी नेपाली काँग्रेस बागलुङका सचिव पनि हुन्। उनी गत स्थानीय निर्वाचनमा पनि काँग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवार बनेर उपविजेता बनेकी थिईन्। गठबन्धनबाट उपाध्यक्ष राष्ट्रिय जनमोर्चाका भीमसेन वन उम्मेदवार बनेका छन्। उनी पनि गत निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए। नेकपा एमालेबाट हालका गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाका छोरा राजन पाईजालाई अध्यक्षमा उम्मेदवार बनाईएको छ। उपाध्यक्षमा एमालेले उपाध्यक्षमा मिना रायमाझीलाई उम्मेदवार बनाएको छ।
निसीखोला गाउँपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसका सूर्यबहादुर घर्ती अध्यक्षको उम्मेदवार बनेका छन्। उनी हालका वडा नम्बर ७ का वडाध्यक्ष हुन्। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेम घर्ती उम्मेदवार छन्। निसीखोलामा नेकपा एमालेबाट भूमिराज घिमिरे अध्यक्ष र भोटु चन्द उपाध्यक्षमा उम्मेदवार बनेका छन्।
तमानखोलामा गठबन्धनबाट नेपाली काँग्रेसका जोकलाल बुढाले अध्यक्षमा उम्मेदवारी दिएका छन्। उनी नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति एवं हालका पनि गाउँपालिका अध्यक्ष हुन्। उपाध्यक्ष नेकपा एकिकृत समाजवादी पार्टीका तारा सिर्पाली उम्मेदवार बनेका छन्। तमानखोला गाउँपालिका एमाले अध्यक्ष रहेका सिर्पाली आईतबार मात्रै एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए। नेकपा एमालेले अध्यक्षमा देबेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति विकलाई उम्मेदवार बनाएको छ।
बरेङ गाउँपालिकामा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा पौडेल उम्मेदवार बनेका छन्। उनी हालका गाउँपालिका अध्यक्ष हुन्। उपाध्यक्षमा नेपाली काँग्रेसका दिलीप पुनले उम्मेदवारी दर्ता गरेका छन्। नेकपा एमालेले प्रदिप थापा मगरलाई अध्यक्ष र दुर्गा कार्कीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।
जिल्लाको ताराखोला गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका धनबहादुर विक हिमाल अध्यक्षका उम्मेदवार बनेका छन्। उपाध्यक्षमा नेपाली काँग्रेसका भीमबहादुर रोका उम्मेदवार बने। उनी लामो समय शिक्षण पेशामा आवद्ध थिए। उनले प्रजातन्त्र विकास मावि अमरभूमिको प्रधानाध्यापक पदबाट राजिनामा दिएर गाउँपालिका उपाध्यक्ष उम्मेदवार बनेका हुन्। नेकपा एमालेले ऋषिराम रोकालाई गाउँपालिका अध्यक्ष र थममाया घर्तीलाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ।
विद्रोही उम्मेदवार कोही स्वतन्त्र कोही पार्टिनै परिवर्तन
गठबन्धन र पार्टीले आधिकारिक टिकट दिएको उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवार पनि बागलुङमा ठूलो संख्यामा देखिएका छन्। जिल्लाको ताराखोला गाउँपालिकामा हालका गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका उनी अहिले पनि गाउँपालिका अध्यक्षको लागि सिफारीस भएका थिए। नेकपा माओवादी केन्द्रले आधिकारीक रुपमा धनबहादुर विक हिमाललाई अध्यक्षको उम्मेदवार बनाएपछि घर्तीले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्। पार्टीले अन्याय गरेकाले उनले स्वतन्त्र उम्मेदवारी गरेको बताएका छन्।
गलकोट नगरपालिकामा नेपाली काँग्रेसकी नेतृ मञ्जु शर्मा चालिसेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छिन्। नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य सदस्य चालिसेले मेयरमा दाबी गरे पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। मेयरको उम्मेदवारबा लागि लबिङमा पोखरा रहेकी उनले पार्टी टिकट भरत शर्मा गैरेलाई दिएपछि हेलिकप्टरमा गलकोट फर्केर नगरप्रमुखमा उम्मेदवारी दिएकी बताईएको छ।
जिल्लाको ढोरपाटन नगरपालिकामा पनि नेपाली काँग्रेसकी नेतृत्व दिलमाया पौवीले स्वतन्त्रबाट नगरप्रमुखमा उम्मेदवारी दिएकी छिन्। मेयरको रेशमा रहेकी उनी गठबन्धन गर्दा पाएको उपमेयरमा पनि काँग्रेसले सम्बोधन नगरेपछि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएकी छिन्। उनी नेपाली काँग्रेसकी महाधिवेसन प्रतिनिधि हुन्।
यता नेपाल महिला संघ बागलुङकी सचिव उषा पौडेल नेपाली काँग्रेसबाट सोमबार नै एमाले प्रवेश गरी जैमिनी नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनेकी छिन्। प्रमुख प्रतिस्पर्धी दलहरु राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेसले गठबन्धन गरेर प्रमुखमा राजमोका नरबहादुर थापा र उपप्रमुखमा काँग्रेसका हरिहर शर्मा उम्मेदवार बनेपछि पौडेल एमाले प्रवेश गरेर उपप्रमुख उम्मेदवार बनेको बताईएको छ।
अन्य विभीन्न ठाउँहरुमा स्वतन्त्र उम्मेदवार दिनको लर्को लागेको छ। ढिलागरी दलहरु उम्मेदवारी दर्ता गर्न गएका कारण उम्मेदवारी दर्ताको प्रक्रिया राती अबेरसम्म पनि चलेकै कारण कति स्वतन्त्र र विद्रोही उम्मेदवारी दर्ता भयो भन्ने एकिन विवरण भने आउन बाँकी छ। गठबन्धन र उम्मेदवारमा टिकट नपाएकाहरुले स्वतन्त्र उम्मेदवारी दिने र दल बदल्ने संख्या निकै धेरै रहेको छ।
ढोरपाटनको गठबन्धन सकस – मेयर, उपमेयर सहित वडा वडामा काँग्रेसको बागी
ढोरपाटनमा गठबन्धन सकस देखिएको छ । खासगरि काँग्रेसभिध देखिएको चरम असन्तुष्टिले गठबन्धनमा अफ्ठेरो अवस्था आएको हो । पार्टिमा योगदानको कदर नभई नेताको तजवीजले राम्रा भन्दा हाम्रा मान्छे उमेद्वारमा परेको एकाथरिको असन्तुष्टि छ भने, सिंगो नगर काँग्रेसको नेतृत्वमा गठबन्धन हुने यस अघिको निर्णय र समझदारि विपरित पार्टिका नेताहरुको चलखेलले स्थानीय राजनीति विग्रने भन्दै काँग्रेस नेता कार्यकर्ताहरुमा भारि असन्तोष पाखिएको छ ।

खास गरि जिल्ला नेतृत्वमा पार्टिभित्रैबाट बाजीमारेका पार्टि सभापति जित शेरचन यसखालको चलखेल गरि पार्टिका इमान्दार नेता कार्यकर्तालाई पछाडि पार्ने काम भएको उनीहरुको आरोप छ । नेतृत्व गलत भएका कारण निर्णय पनि गलत भयो, नीति समेत बेच्ने परिबन्धको सिकार काँग्रेस नहुने भन्दै आफूले मेयर पदमा काँग्रेस जोगाउन उमेदवार दिएको काँग्रेस युवा नेता शैलेस घर्ति बताउँछन् । उता पार्टिका हरेक गतिविधिमा स्थानीय स्तरमा खट्ने, लडने मर्ने कार्यकर्ताको भावना नेतृत्वमा रहेका मान्छेहरु चलखेल गरेको भन्दै दलित समुदाय र महिलाको खरो आवाज उठाउने काँग्रेसमा क्रियाशील महिला नेतृत् दिलमायाँ पौवीका तर्फबाट समेत उपमेयरमा स्वतन्त्र उमेद्वारी परेको छ ।
पार्टि सभापति चाहे त्यो जिल्लाको होस चाहे नगरको उनीहरुको गुटगत चलखेलले पार्टिमा लामो समय योगदान दिएका नेता कार्यकर्तामाथि अन्याय गरेको र यसखालको गतिविधिले काँग्रेस नै धरापमा पर्ने उनीहरुको तर्क छ । यसकारण काँग्रेस जोगाउ मेयर, उपमेयर देखि विभिन्न वडामा अध्यक्ष सहित सेट उमेदवारी खडा गरेर काँग्रेसको विचार र झण्डासहित प्रचारमा जाने उनीहरुको तयारी रहेको बताउँछन् ।

ढोरपाटनमा पहिलो शक्ति रहेको काँग्रेसले गठबन्धनबाट उपमेयरमा नगर सभापति कल्याण कायतलाई अघि सारेको छ भने वडा नं. १ र ६ मा मात्र वडा अध्यक्ष पाएको छ । यसले पनि पार्टिभित्र असन्तुष्टि बढेको देखिन्छ ।
यसले गठबन्धनको ठूलो शक्ति क्षय हुने संकेत गरेको छ । यद्यपि पार्टिभित्रको असन्तुष्टि मथ्थर गर्न दलगत छलफल र सम्वाद जारि रहने र अहिले दाखिला भएका उमेद्वार फिर्ता गर्ने तयारी रहेको पार्टि नेतृत्वपंक्तिका नेताहरु बताइरहेका छन् ।
ढोरपाटनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्टिङय जनमोर्चा र नेकपा समाजवादी पार्टि गरि चारदलीय गठबन्धन कायम छ । नगरको मेयरमा माओवादी केन्द्रका चन्द्रलाल अर्याल उमेदवार बनेका छन् । ९ वटा वडा रहेको नगरमा माओवादी केन्द्रलाई २ वडा र मेयर, काँग्रेसलाई दुईवटा वडा र उपमेयर राजमोलाई ४ वटा वडा र समाजवादीलाई एक वडा गरि भागबण्डा गरिएको छ ।
राष्ट्रिय जनमोर्चाका भण्डारीद्धारा ढोरपाटन नगरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता
ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाका वडा कमिटि अध्यक्ष दलबहादुर भण्डारीले स्वतन्त्र उमेदवनारी दर्ता गराएका छन् । पार्टिको गतिविधि हुकुमी शैली भएको र कार्यकर्ताको भावना भन्दा नेताको स्वार्थले गतिविधि गरेको भन्दै अवदेखि स्वतन्त्र नागरिकका हैसियतमा रहने गरि आफुले नगरमा प्रमुख पदमा उमेद्वारी दिएको बताए।

नगरको वर्तमान गतिविधि समेत मन नपराएका भण्डारीले गठबन्धन बाट समेत राम्रो उमेद्वार नआएको प्रति थप गुनासो गरे । ढोरपाटनमा राष्ट्रिय जनमोर्चा बलियो शक्ति हो तर नेताहरुको हुकुमी पाराले पार्टि ध्वस्त बनाएको भन्दै यसखालको गतिविधिबाट टाढा रहन र नगरका नागरिकसँग अभिमतका आलागि आफूले उदेद्वारी दिएको उनले बताए ।










