निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ। वैशख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आयोगले आज प्रकाशन गर्न लागेको हो। १३ उजुरी दिने समय तोकेको आयोगले हिजो र आज मनोनयन उपर जाँचबुझ गरी आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए।
भोलि साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली नै भोलि नै प्रकाशन हुनेछ। आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ।
७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन्। स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्नेछन्।
यस्तै पालिका चुनावको लागि उम्मेदवार दिनेको संख्या एक लाख ५२ हजार नाघेको छ । हिजो बेलुकी अबरेसम्म संकलन भएको तथ्याँकअनुसार एक लाख ५२ हजार ६ सय ७६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगकाअनुसार केही जिल्लाका पालिकाबाट तथ्याँक संकलन बाँकी रहेकाले यो संख्या केही बढ्न सक्नेछ ।
आउँदो ३० गते हुने पालिका चुनावमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ । दलगत र स्वतन्त्रसहित मेयरमा तीन हजार ४९९, अध्यक्षमा तीन हजार ३८७, उपमेयरमा दुई हजार १५८, उपाध्यक्षमा दुई हजार ४०२, वडाध्यक्षमा ३५ हजार ३१० र वडा सदस्यमा ५५ हजार ५५९ जनाको उम्मेदवारी परेको छ ।
दलहरुले प्रमुख पदमा महिला उम्मेदवार कम उठाएका छन् । उपमेयर र उपाध्यक्षमा भने पुरुषभन्दा बढी महिला उम्मेदवार छन् । एमालेले मेयरमा २९१ जनालाई उम्मेदवार बनाउँदा महिला २७ मात्रै छन् । यस्तै एमालेबाट २६० महिला र २६ पुरुष गरी २८६ जना उपमेयरका उम्मेदवार बनेका छन् । कांग्रेसले १२ महिला र २५३ पुरुष गरी २६५ मेयर तथा १८० महिला र ३१ पुरुष गरी २११ जना उपमेयरको उम्मेदवार उठाएको छ ।
अध्यक्षमा एमालेको तर्फबाट २८ महिला र ४१८ पुरुष गरी ४४६ जना उम्मेदवार छन् । उपाध्यक्षमा ४१० महिला र ३५ पुरुष गरी ४४५ जना छन् । कांग्रेसले अध्यक्षमा १९ महिला र ३६३ पुरुष गरी ३८२ तथा उपाध्यक्षमा २९२ महिला र ६७ पुरुष गरी ३५९ जना उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्रबाट १८ महिला र १५६ पुरुष गरी मेयरमा १७४ जना तथा १३० महिला र ८४ पुरुष गरी उपमेयरमा २१४ जना उम्मेदवार छन् । यस्तै अध्यक्षमा २९ महिला र २६१ पुरुष गरी २९० जना तथा उपाध्यक्षमा २०३ महिला र ११२ पुरुष गरी ३१५ जना माओवादीका उम्मेदवार छन् ।
एकीकृत समाजवादीबाट मेयरमा २३ महिला र १२७ पुरुष गरी १५० जना तथा उपमेयरमा १०६ महिला र ७१ पुरुष गरी १७७ जना उम्मेदवार छन् । एकीकृत समाजवादीले १२ महिला र १७५ पुरुष गरी १८७ जना अध्यक्षमा तथा ११२ महिला र ६८ पुरुष गरी १८० जना उपाध्यक्षमा उम्मेदवार उठाएको छ ।










