आज यी प्रदेशका यी क्षेत्रमा वर्षाको सम्भावना

आज यी प्रदेशका यी क्षेत्रमा वर्षाको सम्भावना
२०८१ कार्तिक २४ गते शनिवार ०८:५९

आज (शनिबार) देशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसो त अहिले पनि कोसी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले...

आज (शनिबार) देशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसो त अहिले पनि कोसी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पनि पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना देखिएको हो।

आज दिउँसो काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको तर सम्भावना कम नै देखिएको मौसमविद् लामिछानेको भनाइ छ। मौसम महाशाखाले आफ्नो वेबसाइटमा आज दिउँसो उपत्यकामा पानी पर्ने सम्भावना २० प्रतिशत मात्र देखिएको उल्लेख गरेको छ। यस्तै राति पनि कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

मौसमविद्का अनुसार अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। बिस्तारै देशभर चिसो बढ्दै गएको छ।

प्रकाशित मिति २०८१ कार्तिक २४ गते शनिवार ०८:५९
प्रतिक्रिया दिनुहोस्