पोखरा महानगरको बिशेष नगरसभा सम्पन्न

पोखरा महानगरको बिशेष नगरसभा सम्पन्न
२०८१ मङ्सिर २८ गते शुक्रबार १०:११

पोखरा महानगरको बिशेष नगरसभाले एमाले र कांग्रेसबीच भएको नौबुंदे सहमति अनुमोदन गरेको छ। शुक्रवार सम्पन्न महानगरको बिशेष नगरसभाले महानगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन २०८१ सर्वसम्मतिले पारित गरेको छ ।...

पोखरा महानगरको बिशेष नगरसभाले एमाले र कांग्रेसबीच भएको नौबुंदे सहमति अनुमोदन गरेको छ।

शुक्रवार सम्पन्न महानगरको बिशेष नगरसभाले महानगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन २०८१ सर्वसम्मतिले पारित गरेको छ । ओएनएम प्रतिवेदन अनुसार महानगरमा एकहजार १३ दरबन्दी स्वीकृत गरिएको छ । स्वास्थ्य अन्तरगत सङ्घीय सरकारको १७८ समेत गरी महानगरपालिकामा कुल एकहजार एकसय ९१ दरबन्दी कायम भएको छ ।

यस्तै महानगरपालिकामा कार्यरत श्रेणिविहीन बाहेक करार कर्मचारीहरूको म्याद पौष मसान्तपछि थप नगर्ने र करार सेवा मुक्त गरिएका ३५ जना करार कर्मचारीहरूलाई थप दुइ महिनाको पारिश्रमिक बराबरको सेवा उपलब्ध गराउने नगरसभाले निर्णय गरेको छ ।

नगरसभाले गण्डकी प्रदेश किताब खानामा दर्ता हुने महानगरपालिकाको दरबन्दी संरचनामा नसमेटिएका अन्य स्थानीय तहबाट कामकाजमा रहेका दरबन्दी भन्दा बढीका कर्मचारीहरूलाई पदाधिकार रहेकै कार्यालयमा कनिष्ठताका आधारमा काज फिर्ता गर्ने, महानगरपालिकाको स्वीकृत दरबन्दी प्रदेश लोकसेवा आयोगबाट स्थायी पदपूर्ति नहुँदासम्म कर्मचारी आवश्यक परेमा लोकसेवा आयोगको अस्थायी योग्यता क्रमको सूचिबाट करारमा नियुक्ति गरी कामकाजमा लगाउने, अन्यत्र पालिकामा स्थायी नियुक्ति भई पोखरा महानगरपालिकामा कामकाज वा सरुवा भई आएका कर्मचारीहरूको अन्यत्र पालिकामा कार्यरत अवधिको आधारमा प्राप्त हुने सेवा सुविधाको आर्थिक दायित्व नलिने निर्णय समेत पारित गरेको छ ।

नगर प्रमुख धनराज आचार्यका अनुसार महानगरपालिकाको आन्तरिक सुशासन प्रवर्द्धन गर्न आर्थिक दायित्व पर्ने गरी कुनै पनि कर्मचारी पदाधिकारीहरूको वैदेशिक भ्रमण स्वीकृत नगर्ने, कुनै पनि आयोग, समिति र प्रतिष्ठान गठन नगर्ने, विनियोजन ऐनले तोकेको सीमा भन्दा बाहिर गएर कुनै पनि योजना वा कार्यक्रममा रकमान्तर नगर्ने, बेरुजु असुली प्रक्रियालाई अभियानको रूपमा सञ्चालन गर्ने, महानगर गौरवका योजना बाहेक कुनै पनि योजनाको डी.पी.आर तयार गर्न परामर्शदाताको सेवा नलिने र राजश्व बक्यौता असुली कार्य योजना बनाई आगामी नगर सभामा पेस गर्ने निर्णय पनि विशेष नगरसभाले गरेको छ ।

प्रकाशित मिति २०८१ मङ्सिर २८ गते शुक्रबार १०:११
प्रतिक्रिया दिनुहोस्