सर्लाहीका एक युवाले असमझदारी बढेपछि बिबाहका लागि मन्दिरमा बोलाइएकी प्रेमिकाको महोत्तरीमा हत्या गरेको खुलेको छ।
गएको असोज २३ गते महोत्तरीको बर्दिबास जंगलमा हत्या गरेको अवस्थामा भेटिएकी महोत्तरीकै महोत्तरी गाउँपालिका- ४ निवासी २३ वर्षीया अनु रायको उनकै प्रेमीले हत्या गरेको खुलेको हो।
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका- ४ आदर्शनगरबाट गएको पुष १ गते पक्राउ परेका सर्लाहीको चक्रघट्टा गााउँपालिका- ९ खोरिया निवासी मन्दिप कुमार रायले आफूले अनु रायको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्।
अभियुक्त मन्दिप कुमार रायको बयानलाई आधार मानेर जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुला जयसवालले दिएको जानकारी अनुसार , मंदिपले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी अनुलाई बिबाह गर्न भन्दै बर्दिबास नगरपालिका- ५ स्थित टुटेश्वर मन्दिर लगेका थिए। बिबाह गर्ने बिषयमा दुवै जना बीच असमझदारी भएपछी आ – आफ्नो घर जाने गरी उनीहरु घर फर्किएका पनि थिए। तर मन्दिरमा बिबाह नगरी फर्कदै गर्दा अभियुक्त मन्दिपले टुटेश्वर मन्दिर नजिकै जंगलको एकान्त ठाउँमा असोज २३ गते प्रेमिका अनुको घाँटी डोरीले कसेर हत्या गरेका प्रहरीले जानकारी दिएको छ । अनुको हत्यापछि शव नजिकैको नालामा फ्याँकेर मन्दिप फरार भएका थिए।
आफूहरुबीच प्रेम सम्बन्ध रहेको तर, विवाहको विषयमा असमझरी हुँदा आफूले अनुको हत्या गरेको मन्दिपले पनि स्वीकार गरेका डीएसपी जयसवालले बताए।
बर्दिबास नगरपालिका- ५ टुटेश्वर मन्दिर नजिकै जंगलको एकान्त ठाउँमा असोज २३ गते तिनै अनुको शव बेवारिशे अवस्थामा फेला परेको थियो। कालो भेस्ट र निलो जिन्स पाइन्ट लगाएकी ती युवतीको त्यतिबेला सनाखतसमेत हुन सकेको थिएन।
जंगलमा युवतीको शव फेला परेपछि प्रहरीले घटनाको सुक्ष्म ढंगले अनुसन्धान अघि बढाएको थियो। लामो अनुसन्धानपछि उक्त शव महोत्तरीकै महोत्तरी गाउँपालिका- ४ निवासी २३ वर्षीया अनु रायको भएको खुलेको थियो। शवको पहिचान खुलेपछि घटना अनुसन्धानले गति लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारीसमेत रहेका डीएसपी सन्तुला जयसवालले जानकारी दिए।
‘लामो अनुसन्धानपछि हामीले युवतीको हत्यामा संलग्न युवकलाई पनि पक्राउ गरेका छौँ,’ डीएसपी जयसवालले भने, ‘उनलाई आज जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थप गरेर कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाएका छौँ।’










