कसले भन्यो कांग्रेस डुब्छ भनेर, हामी बचाउँछौं : गगन थापा

कसले भन्यो कांग्रेस डुब्छ भनेर, हामी बचाउँछौं : गगन थापा
२०८१ पुस २० गते शनिवार ०९:१२

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काङ्ग्रेस डुब्छ भन्ने हल्ला मात्र भएको बताएका छन् । शनिबार पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले बेला बेलामा पार्टीका नेताले अधिवेशन नै नहुने खतरा, पार्टी नै...

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काङ्ग्रेस डुब्छ भन्ने हल्ला मात्र भएको बताएका छन् ।

शनिबार पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले बेला बेलामा पार्टीका नेताले अधिवेशन नै नहुने खतरा, पार्टी नै डुब्ने खतरा भनेर चर्चा गर्नुको अर्थ नभएको बताए । उनले भने, ‘पञ्चायतको प्रतिबन्धित कालमा समेत पार्टी सञ्चालन गरेर आएका हामी अहिले यस्तो आनन्दको अवस्थामा छौ । बेला बेलामा पार्टीको नेताले भनेको सुनिन्छ, अधिवेशन नै नहुने खतरा छ, पार्टी नै डुब्ने खतरा छ । कहाँबाट कसले डुबाउछ पार्टी, त्यसै डुब्छ पार्टी छैनौ । जो जो नेताले मञ्चमा आएर अधिवेशनको बारेमा धेरै कुरा गर्नुहुन्छ उही नेताको निर्वाचन क्षेत्रमा के भईरहेको छ भन्ने कुरा सार्वजनिक गरिदिनसक्छु ।’ यसको साथै, उनले नयाँ पार्टी र स्टन्डबाजहरूले गाली गरेको भरमा सबैजना अल्मलिएको भन्दै अब अल्मलिन नहुने बताए ।

उनले भने, ‘पार्टीको काँधमा यति ठूलो जिम्मेवारी छ । एउटा नयाँ आयो आयो भनेजस्तो स्टन्डबाजहरू आएका छन्, हल्ला गरेका छन् । तपाईंहामी सबैलाई गाली गरेका छन् । आन्दोलन र त्यसको डिफेन्स गरेका छन् । हामी सबै जना अल्मलिएका छौं । अब अल्मलिनु हुँदैन ।’ चैत्र महिनाभित्र नवीकरण नहुने क्रियाशील सदस्यको अब नवीकरण नहुने पनि उनको भनाई छ ।

उनले भने, ‘चैत्र महिनाभित्र नवीकरण नगर्ने काम सक्नुपर्ने छ । त्यसको शूल्क २ सय हो । चैत्र महिनाभित्र नवीकरण नहुने क्रियाशील सदस्यको अब नवीकरण हुँदैन । यो क्यालेन्डर हो, जुन जिल्लाले दिइएको समयभित्र क्षेत्रलाई क्रियाशील दिएन भने जिल्लाले दिएको त्यो क्रियाशील फार्मको नम्बर माथि फ्रिज गरिदिन्छौं । क्षेत्रले तलको तहलाई दिएन भने क्षेत्रको फ्रिज गरिदिन्छौं र तल पठाउँछौं ।’

प्रकाशित मिति २०८१ पुस २० गते शनिवार ०९:१२
प्रतिक्रिया दिनुहोस्