सहकारी ठगी मुद्दामा लेखा समिति सभापतिपत्नी अन्जलासँग १० लाख धरौटी माग

सहकारी ठगी मुद्दामा लेखा समिति सभापतिपत्नी अन्जलासँग १० लाख धरौटी माग
२०८१ पुस २४ गते बुधबार ०५:४८

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न मोरङ जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले अन्जलालाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको...

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न मोरङ जिल्ला अदालतले आदेश दिएको छ।

न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले अन्जलालाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।

सहकारी ठगीको अभियोगमा मुद्दा चलाइएपछि बुधबार मात्र अदालतमा उपस्थित भएकी उनलाई जिल्ला अदालतले थुनामा बस्नु नपर्ने गरी आदेश दिएको हो।

बिहान अदालतमा हाजिर भएपछि उनको आजै बयान लिइएको थियो। त्यसपछि सरकारी वकिल र अभियुक्त दुवैतर्फबाट बहस चलेको थियो।

मोरङ धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा कोइराला २६ जनाविरुद्ध मुद्दा दायर भएको छ। उक्त सहकारीमा अन्जला २०७२/०७३ देखि सञ्चालक समितिमा थिइन्।

२२ करोड २८ लाख २७ हजार ७ सय रकम खाने पचाउने गरी अपचलन भएको दाबी अभियोगपत्रमा गरिएको छ।

अन्जलाको तर्फबाट बुधबार ९ जना वरिष्ठ अधिवक्तासहित ११ जनाले बहस गरेका थिए।

यस मुद्दामा रंगेली २ का वडाध्यक्ष सन्तलाल खवास यसअघि नै धरौटीमा रिहा भइसकेका छन्। अध्यक्ष शम्भु रौनियारसहित २४ अभियुक्त फरार छन्।

प्रकाशित मिति २०८१ पुस २४ गते बुधबार ०५:४८
प्रतिक्रिया दिनुहोस्