पोखरा महानगरपालिका क्षेत्रभित्र कोटिहोमका नाममा अनुमति बिना सयौँ वर्ष पुराना सार्वजनिक चौतारीका रुखहरू जथाभावी कटान गरिएको भन्ने विषयमा हिजो देखि सामाजिक संजालमा गुनासोहरु आईरहेका छन् ।
अनधिकृत रुपमा रुख कटान गर्ने कार्य कानुनतः दण्डनीय हुने कुरा सचेत गराउँदै रुख कटानमा संलग्न जो कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने व्यहोरा जानकारी गराउदै पोखरा महानगरपालिकाले आज सार्वजनिक सुचना जारी गरेको छ ।
पोखरा महानगरपालिका भित्र अनुमति बिना सार्वजनिक स्थानमा रहेका रुख तथा विरुवाहरु कटान र बिक्रीवितरण गर्न नपाइने सम्बन्धित सवैलाई जानकारी गराउँदै आफ्नो टोल छिमेकमा रहेका ऐतिहासिक चौतारी तथा रुख विरुवाहरूको संरक्षणमा प्रतिवद्ध बन्न महानगरपालिकाले आम नगरवासीलाई अनुरोध गरेको हो ।
महानगरपालिकाले अनुगमनका क्रममा काटिएका रुखहरूको विवरण संकलन गरिरहेको र अनधिकृत रुपमा रुख कटान कार्यमा संलग्नको पहिचान गरी प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अघि बढाउने पोखरा महानरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् ।
‘वातावरण तथा पर्यावरणको संरक्षण गरौँ, सदैव सजग र सेचत बनौँ ।’ भन्ने नाराका साथ् अस भन्दा अगाडी पनि महानगरपालिकाले बिभिन्न अभियान चलाउदै सचेतना समेत दिदै आएको थियो ।










