चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । अदालतले माग गरेको धरौटी बुझाए लामिछाने आजै रिहा हुनेछन्। बुधबार बयान सकिए पनि थुनछेक बहस नसकिँदा रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको थियो।
यसअघि बहसका क्रममा सरकारी वकिल र जाहेरवालाका कानुन व्यवसायीले रविलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन माग गरेका थिए।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।
यसअघि सहकारी ठगीकै मुद्दामा उनी तीनवटा जिल्ला अदालतबाट पनि धरौटीमै रिहा भएका थिए। कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्दामा ६५ लाख धरौटीमा रिहा भएका लामिछानेलाई काठमाडौँ अदालतले स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख धरौटी लिएर छाडेको थियो।
त्यसपछि बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा उनलाई रूपन्देही अदालतले एक करोड रूपैयाँ धरौटी माग गरेको थियो। यी तीनवटै जिल्लामा गरी उनले २ करोड २५ लाख रुपैयाँ धरौटी यसअघि नै बुझाइसकेका छन्।
अब पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको ठगी प्रकरणमा पनि उनीमाथि मुद्दा चलाउने तयारी छ। प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्याइसकेको छ। कास्की प्रहरीको हिरासतमा छँदा रविसहितका अभियुक्तलाई वीरगन्ज पुर्याएर बयान लिइएको थियो।









