अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल पोखरामा हुँदै

अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल पोखरामा हुँदै
२०८१ चैत १८ गते मङ्गलबार ०९:३२

लयन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पहिलो लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल २०८२ साल बैशाख १८ देखि २२ गतेसम्म हुने...

लयन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पहिलो लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल २०८२ साल बैशाख १८ देखि २२ गतेसम्म हुने जानकारी दिएको हो ।
प्रतियोगिता पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा खेलाइने डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले बताए । पहिलो पटक पोखराको उक्त हलमा भलिबल खेल खेलाउने लागिएको हो ।

प्रतियोगितामा तीन विभागीय सहित नेपालबाट ४ र दुई विदेशी गरी ६ टिमले भाग लिने अर्यालले जानकारी दिए । ‘नेपालबाट तीन विभागीय टोली र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । पाकिस्तान भलिबल क्लब आउने पक्का भइसकेको छ । बाँकी एक टिमको लागि भारत र इरानका टोलीसँग सल्लाह भइरहेको छ ।’ अर्यालले भने ।

नेपालबाट नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश भलिबल संघले सहभागिता जनाउने छन् । यस्तै, पाकिस्तान भलिबल क्लब, इस्लामवादले पनि सहभागिता जनाउने पक्का भइसकेको छ ।

यस्तै भारत र इरानमध्ये एक राष्ट्रको टिम आउने आयोजकले जनाएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागि हुने टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहको लिग चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगितामा कूल ९ खेल हुनेछ ।
प्रतियोगितामा सहभागि विभाग बाहेकका टोलीले तीन विदेशी खेलाडी समावेश गर्न पाउने आयोजकले जनाएको छ ।

लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको परिप्रेक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवद्र्धन गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिइ । ‘हामी पहिलो पटक यो प्रतियोगिता आयोजना गर्दैछौँ । यसलाई भव्य रुपमा सफल पार्ने र आउने वर्षदेखि अझ व्यवस्थति ढंगले गर्ने योजना छ । साथै महिलाको पनि प्रतियोगिता गर्ने योजना छ ।’ अर्यालले भने ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिबल संघ र गण्डकी प्रदेश खेलकुद परिषदको स्वीकृती, गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोग तथा पोखरा महानगरपालिका प्रवद्र्धन र गण्डकी प्रदेशको विशेष सहयोग रहने अर्यालले जानकारी दिए ।

यस्तै सहयोगी संस्थाहरुमा नेपाल पर्यटन बोर्ड, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा पर्यटन परिषद (पोखरा), कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला भलिबल संघ, टाइगर ग्रुप अफ पोखरा नेपाल रहेका छन् ।

प्रतियोगिताको विजेताले ट्रफिसहित ४ लाख ४४ हजार ४४४ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख ४४ हजार ४४४ र तेस्रोले १ लाख ४४ हजार ४४४ रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४४४ रुपैयाँ पाउनेछन् भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ८ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०८१ चैत १८ गते मङ्गलबार ०९:३२
प्रतिक्रिया दिनुहोस्