पोखरा । पोखरा ५ पस्र्याङमा रहेको शान्ति निकेतन स्कुलमा सुविधासम्पन्न अत्याधुनिक भवन शिलान्यास गरिएको छ । झण्डै १५ करोडको लागतमा निर्माण हुने उक्त विद्यालय भवनको सोमबार प्रमुख अतिथि पोखरा ५ का वडाअध्यक्ष विष्णु प्रसाद बराल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुत्र्याल, संस्थापक प्रिन्सिपल डा. महेश्वर पराजुली लगायतले शिलान्यास गरेका हुन् ।
भवन शिलान्यासपश्चात बोल्दै प्रमुख अतिथि वडा नं. ५ का वडा अध्यक्ष विष्णु प्रसाद बरालले शान्ति निकेतन स्कुलले विगत २० वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको प्रति खुशि व्यक्त गरे । शान्ति निकेतनले पोखराको शैक्षिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउँदै अब बन्ने सुविधासम्पन्न भवनबाट थप अत्याधुनिक सेवा सुविधासहित पठनपाठन हुने विश्वास व्यक्त गरे । शान्ति निकेतनसहित वडाभित्र रहेका विद्यालयहरुलाई वडाकै सम्पत्तिका रुपमा अपनत्व लिएर संरक्षण गर्ने अध्यक्ष बरालले बताए । शिक्षकहरुको काठमांडौ केन्द्रित आन्दोलनबारे बोल्दै अध्यक्ष बरालले मुलुकको समृद्धि र विकास शिक्षासँग जोडिएको बताए । उनले शिक्षकहरुका जायज मागहरु नेपाल सरकारले सम्बोधन गरेर नयाँ शैक्षिक सत्रलाई व्यवस्थित बनाउने वातारण सरकारले बनाउनुपर्ने बताए ।
भवन शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुत्र्यालले कक्षा १० सम्म पढाइ हुदै आएको यस विद्यालयमा नयाँ भवन निर्माणपश्चात प्लस टु का कक्षाहरु समेत सञ्चालन गरिने जानकारी दिए । राष्ट्रलाई आवश्यक जनशक्ति उत्पादन गर्ने तथा वैदेशिक अध्ययनका लागि विदेशिने विद्यार्थीहरुको संख्या घटाउन शान्ति निकेतनले भुमिका खेल्ने बताए ।
हाल शान्ति निकेतनमा ८ सय विद्यार्थीहरु अध्ययनरत छन् । शान्ति निकेतन स्कुलका संस्थापक प्रिन्सिपल डा. महेश्वर पराजुलीले स्वागत मन्तव्य राख्दै विद्यालयले पछिल्लो समय कक्षा ८ र एसईई परिक्षामा समेत उत्कृष्ट नतिजा निकाल्दै आएको बताए । उनले शैक्षिक गुणस्तर राम्रो भएसँगै विद्यालयको भौतिक गुणस्तर सुधार्नका लागि अभिभावक तथा शुभचिन्तकहरुको सुझावअनुसार अत्याधुनिक भवन निर्माण गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा वडा सदस्य हरिमाया विक, जिल्ला खेलकुद विकास समिति कास्कीका सचिव अञ्जु केसी, प्रतिभा माविका प्रिन्सिपल किरण सापकोटा, शिक्षाविद् हेरम्ब प्रसाद कोइराला, शिक्षाविद् रविराज बराल, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो । भवन शिलान्यास कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समिति सदस्य पुरुषोत्तम पराजुलीले गरेका थिए ।










