पोखरा जेठ ७ / पोखरामा आज बुधबार बिहानै देखि पानी पर्न थालेको छ । जसले गर्दा प्रि–मनसुनको संकेत हो कि भन्ने भएको छ । प्रि–मनसुनी गतिविधिका कारण केही दिनयता देशका धेरैजसो ठाउँमा पानी परेको छ । हावाहुरी, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुँदै आएको छ ।
देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ ।
अझै केही दिन प्रि–मनसुनी वर्षा कायमै रहने मौसमविद्को अनुमान छ । यो वर्षाले मनसुनलाई जोड्ने सम्भावना रहेको मौसमविद् विनोद पोख्रेलको भनाइ छ ।
औसतमा नेपालमा जुन १३ तारिखमा मनसुन भित्रिन्छ भने अक्टोबर २ तारिखमा बाहिरिन्छ । मनसुन भित्रिने अवधि जेठ अन्तिमलाई आधारमान्दा अब २२र२३ दिन बाँकी छ ।
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका थोरै ठाउँमा र देशका बाँकी भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।










