स्याङ्जाको भीरकोटमा उठ्यो बालश्रम अन्त्यको नारा

स्याङ्जाको भीरकोटमा उठ्यो बालश्रम अन्त्यको नारा
२०८२ जेठ ३० गते बिहिबार १०:०२

स्याङ्जा जेठ २८/ स्याङ्जामा विश्व बालश्रम विरुद्धको दिवस मनाइएको छ । गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा प्रगती स्पष्ट छ, तर अझै धेरै गर्न बाकी छ ः प्रयासहरुलाई...

स्याङ्जा जेठ २८/ स्याङ्जामा विश्व बालश्रम विरुद्धको दिवस मनाइएको छ । गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा प्रगती स्पष्ट छ, तर अझै धेरै गर्न बाकी छ ः प्रयासहरुलाई तिव्र बनाऔ भन्ने मुल नाराका साथ भीरकोट ८ मा रहेको पब्लिक एकेडेमी मा वि मा बालश्रम विरुद्ध दिवस मनाइएको हो । कार्यक्रमको उद्घाटन गर्दै भिरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले बालश्रम गर्न दुरुत्साहन गर्नुपर्ने बताए । सबै मिलेर बालश्रमको अन्त्य गर्नुपर्ने कुरामा प्रमुख कर्माचार्यको जोड थियो ।

सो कार्यक्रममा नि वर्तमान नगर प्रमुख छायाराम खनालले बालश्रम मुक्त नगर, जिल्ला र देश बनाउनका लागि सबै सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिए । त्यस्तै, स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जिल्ला सदरमुकाममा मात्रै सिमित सामाजिक विकास कार्यालयका कार्यक्रम अहिले दुरदराजसम्म पुगेको भन्दै सामाजिक विकास कार्यालय स्याङ्जाको प्रशंसा गरे । कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले बालश्रम कानुन र संविधानले वर्जित गरेको कुरा बताए । बालबालिकामा थुप्रै सम्भावना रहेको र उनिहरुमा लगानी गर्न आवश्यक रहेको समेत उनले बताएका थिए । कार्यक्रममा कार्यपालिका सदस्य चित्र बहादुर राना भुजेल, जिल्ला बाल संरक्षण समिति स्याङ्जाका अध्यक्ष विज्ञान भण्डारी, जिल्ला बाल सन्जाल अध्यक्ष सुजता पौडेलद्वारा मन्तव्य सहित कविता वाचन, नगर बाल संजालका प्रतिनिधि सुजन अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सामाजिक विकास कार्यालय स्याङ्जाका जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष नन्दलाल खनालले स्वागत, विद्यालयका प्रधानाध्यापक देबकी रेग्मीले धन्यवाद मन्तव्य एवम् कार्यक्रम सञ्चालन भीरकोट नगरपालिकाकी कर्मचारी विष्णु माया काफ्लेले गरेकी थिइन । सो अवसरमा विद्यार्थीहरु अस्मि परियार, उपसना थापा, सुप्रिया वि क, विनिता वि क, सुप्रिया थापा लगायतले सांगितिक, सांस्कृतिक नृत्य एवम् कविता प्रस्तुत गरेका थिए भने सो विद्यालयको पञ्चेबाजा समुहले लोक बाजा प्रस्तुत गरेको थियो । सोहि अवसरमा बाजा, नृत्य र कविता वाचन गर्ने बालबालिकाहरूलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिएको थियो । बाल श्रम विरुद्धको दिवस हरेक वर्ष जुन १२ मा मनाइदै आइएको छ । नेपालको सविधानले भाग ३ को धारा ३९ मा बालअधिकारसम्बन्धी मौलिक हकको व्यवस्था गरेको छ । हाल नेपालका ११ लाख बालबालिका बालश्रम गर्न बाध्य रहेका छन् ।

प्रकाशित मिति २०८२ जेठ ३० गते बिहिबार १०:०२
प्रतिक्रिया दिनुहोस्