पोखरा असार ७/ पोखरामा झन्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । पोखराबाट पुम्दीभुम्दी हुदै बुटवलतर्फ जाँदै गरेको माइक्रोबसमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
पक्राउ परेकामा भारत, पन्जाबको अमृतसर निवासी ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ का ४७ वर्षीय रामबहादुर बिक रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ८२ तोला १६ लाल सुनका गरगहना बरामद गरेको छ । ती गरगहनाको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ बराबरको रहेको छ । बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मंगलसूत्र र पोतेलगायत समावेश छन् ।
प्रहरीका अनुसार, कुलदिप सिंह र रामबहादुर बिकबीच सामाजिक सञ्जालमार्फत झण्डै तीन वर्षअघिदेखि सम्पर्कमा रहेको खुलेको छ । भारतका विभिन्न राज्यमा सुनका गहना बिक्री गर्दै हिँड्ने कुलदिपले नेपालमा पनि कारोबार गर्ने योजना बनाएका थिए ।
सोही क्रममा अमृतसरस्थित अमरजित साहु नामक व्यक्तिको सुन पसलबाट गहना ल्याइ नेपालमा बिक्री गर्न लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका रामबहादुरले सो कारोबारमा संलग्न भई बिक्रीपश्चात केही पैसा पाउने सर्तमा साथ दिएको बयान दिएका छन् ।पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।










