पुतलीबजारमा मनाइयो धान दिवस, धानको उत्पादन बढाइ अर्थतन्त्रमा टेवा पुर्याउनुपर्ने नगर प्रमुख रेग्मीको भनाइ

पुतलीबजारमा मनाइयो धान दिवस, धानको उत्पादन बढाइ अर्थतन्त्रमा टेवा पुर्याउनुपर्ने नगर प्रमुख रेग्मीको भनाइ
२०८२ असार १५ गते आईतबार १०:१३

स्याङ्जा असार १५ / स्याङ्जामा विविध कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाइएको छ । स्याङ्जाको पुतलीबजारमा स्याङ्जा युथ क्लब स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिकाको सहयोगमा "नयाँ धान, नयाँ आशा, सम्बृद्ध नेपालको आधार" भन्ने मुल...

स्याङ्जा असार १५ / स्याङ्जामा विविध कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाइएको छ । स्याङ्जाको पुतलीबजारमा स्याङ्जा युथ क्लब स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिकाको सहयोगमा “नयाँ धान, नयाँ आशा, सम्बृद्ध नेपालको आधार” भन्ने मुल नाराका साथ असार १५ अर्थात राष्ट्रिय धान दिवस- २०८२ मनाइएको हो । दिवसको अवसरमा आयोजित मेलोडी अफ मनसुन पाँचौ हिले जात्राको उद्घाटन गर्दै नगर प्रमुख तुलसी राम रेग्मीले कृषि उत्पादनसंगै धानको उत्पादन बढाइ राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन सकेमा मात्र धान दिवस मनाउनुको सार्थकता हुने बताए । उनले कृषिमा व्यवसायिक बनि आय आर्जन गर्नु पर्ने र युवालाई बिदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्याल, कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमाल लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा मुक्तिनाथ विकास बैंकका संचालक तथा पुतलीबजार नगरपालिकाका बिज्ञ समुहका संयोजक भरत लम्साल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका प्रमुख अजय अधिकारी, कृषि बिकास श्रोत केन्द्र वालिङ्का प्रमुख सुदिप रेग्मी, मुक्तिनाथ बिकास बैंक स्याङ्जा शाखा प्रमुख ऋषि ढकाल, गरिमा बिकास बैंक स्याङ्जा शाखा प्रमुख रबिन्द्र अर्याल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष रोशन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । असार पन्ध्रको अवसरमा धान रोपाइ कार्यक्रम, हिले दौड प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, दही चिउरा खाने कार्यक्रम,छेलो फाल्ने प्रतियोगिता समेत आयोजना भएको पुतलीबजार नगर प्रमुखको सचिवालयले जनाएको छ ।

नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्त्व दिनेगरि धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरी कृषकको मनोबल वृद्धि गर्ने उद्देश्यले वि सं २०६१ सालदेखि प्रत्येक वर्ष आषाढ १५ गते लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन शुरू गरिएको हो । यस वर्ष ‘‘धान वालीमा सघनता: खाद्य सुरक्षा र आत्म निर्भरता’’ भन्ने मुल नाराका साथ राष्ट्रिय धान दिवस, २०८२ मनाइएको हो ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हकको व्यवस्था गरेको छ । खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि धान खेतीको प्रवर्द्धन गर्नु आवश्यक देखिन्छ । नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनताको प्रमुख खाद्यान्न बाली धान हो । त्यसैले धान खेती नेपाली समाज र जीवनसँग अभिन्न भएर रहेको छ । यसले हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवम् पर्यटकीय महत्त्व पनि राख्दछ । विश्‍वव्यापी जलवायु परिवर्तनले धान खेतीमा पारेको र पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई धानको उत्पादन एवम् उत्पादकत्व बढाउँदै धानवालीको विविधीकरण गर्नुपर्ने आवश्यकता रहेको छ ।

मलको अभावका कारण नेपालको प्रमुख बालीको रुपमा रहेको धान खेतीबाट आशातित उत्पादन लिन नसकिएको किसान तथा कृषि विज्ञहरु बताउछन । यद्यपि सरकारले आफ्ना गाेदामहरूमा ६० हजार टनभन्दा बढी रासायनिक मल मौज्दात रहेको जनाएको छ । २०८१ साउन १ देखि २०८२ असार १२ सम्मको सरकारी तथ्यांक अनुसार सरकारसँग ६० हजार ७ सय १२ टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सरकारले सार्वजनिक गरेको उक्त तथ्यांक अनुसार मौज्दात मलमध्ये युरिया २६ हजार ४ सय १२ टन छ । यस्तै २५ हजार ६ सय ८७ टन डीएपी र पोटास ८६ हजार १२ टन छ । चालु आर्थिक वर्ष २०८१/८२ मा रासायनिक मलका लागि सरकारले २७ अर्ब ९७ करोड बजेट छुट्याएको थियो । जसबाट ५ लाख ५० हजार टन मल आपूर्ति गर्ने लक्ष्य राखेको थियो । सोही लक्ष्य अनुसार मन्त्रालयले साल्ट ट्रेडिङ र कृषि सामग्री केन्द्रमार्फत मलको टेन्डर गरिसकेको छ ।

चालु आव असारसम्म ३ लाख ६३ हजार २ सय ३६ टन मल आपूर्ति भइसकेको मन्त्रालयले जनाएको छ । यस्तै साल्ट ट्रेडिङ कम्पनी लिमिडेट र कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरिरहेको ३४ हजार टन युरिया कोलकाताबाट नेपाल प्रवेश गरिसकेको छ । उक्त परिमाणको मल दुवै कम्पनीको गोदाममा आइपुग्न बाँकी छ ।

मन्त्रालयका अनुसार कृषि सामग्रीले आयात गरेको ३० हजार टन युरिया कोलकाता आइसके पनि नेपाल आइपुग्न बाँकी छ । यस्तै साल्ट ट्रेडिङले आयात गरेको २२ हजार टन युरिया कोलकाता आउने क्रममा रहेको छ भने कृषि सामग्रीले ल्याउन लागेको ३० हजार टन डीएपी सिपमेन्ट भइसकेको र २५ असारमा कोलकाता आइपुग्ने मन्त्रालयले जनाएको छ ।

सरकारले मलको परिमाण सार्वजनिक गरे पनि किसानले धान रोपाइँ गर्ने बेलासम्म मल पाउन सकेका छैनन् ।यस्तो समस्या वर्षौंदेखिको हो । रासायनिक मल समस्या समाधान गर्न विभिन्न घोषणा गरे पनि कार्यान्वयनमा भने अहिलेसम्म आउन सकेको छैन ।

प्रकाशित मिति २०८२ असार १५ गते आईतबार १०:१३
प्रतिक्रिया दिनुहोस्