गायिका एलिना चौहानलाई सामाजिक सञ्जाल फेसबुकमा गालिगलौज गर्दै कमेन्ट गर्ने एक युवा ललितपुरबाट पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले गायिका एलिना चौहानलाई सामाजिक सञ्जाल फेसबुकमा गालिगलौज गर्दै कमेन्ट गरेको आरोपमा ललितपुरकाे बाँडे गाउँबाट ३३ वर्षीय गुन्जन राईलाई पक्राउ गरेको हो।
राईले सामाजिक सञ्जाल फेसबुकमा गायिका एलिना चौहानलाई बेइज्जात हुने गरी तथानाम गालीगलौज गर्नुका साथ उनकै फेसबुक स्टाटसमा गइ अपमानजनक गतिबिधि गरेको आरोप लगाइएको छ। अभियुक्त राईले ४०/५० वटा नक्कली आईडी बनाएको पनि प्रहरीको साइबर ब्युरोले पत्तो लगाएको छ। प्रहरीले अहिले ती सबै आईडी पनि बन्द गरिदिएको छ।
गायिका चौहानले आफूलाई लान्छना लगाउँदै कमेन्ट गर्ने क्रम नरोकिएपछि साइबर ब्युरोमा उजुरी गरेकी थिइन्। त्यसअघि उनले यसरी गालिगलौज गर्नेको प्रोफाइल र कमेन्ट सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गरेकी थिइन्। तर यो क्रम नरोकिएपछि उनले ब्युरोमा उजुरी दिन बाध्य भएको बताएकी थिइन्।
यसै विषयमा गायिका चौहान र समिक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेर कुरा राखेका थिए। गृहमन्त्री लेखकले यस विषयमा गम्भीरतापूर्वक कारबाही अगाडी बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।










