स्याङ्जा असार २२/ पुतलीबजार नगरपालिकाले युवा पत्रकार पवन मरासिनी सहित नगरभित्रका विभिन्न क्षेत्रमा रहेर आफ्नो क्षेत्रको पेशागत कार्य सम्पादनमा उत्कृष्ट व्यक्तित्वहरुलाई सम्मान गरेको छ । नगरले १७ औ नगर सभाको अवसरमा आर्थिक वर्ष २०८१र०८२ मा आफ्नो जिम्मेवारी र आफ्नो क्षेत्रको पेशागत कार्यसम्पादनमा अब्बल १७ जना व्यक्तित्वहरुलाई सम्मान गरेको हो । शनिबार पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मी, नगर उपप्रमुख देवि अर्याल र प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले संयुक्त रुपमा ती व्यक्तित्वहरुलाई सम्मान गरेका हुन ।
सम्मानित हुनेहरुमा पत्रकार मरासिनी सहित कृषक भोलानाथ रेग्मी, महिला उद्यमि इन्द्रा थापा, श्रमिक ओम बहादुर वि क, कलाकार कमलापती रेग्मी, करदाता पबि कुमाल, संखपुर सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नरकाजी गुरुङ, टस कुमारी सार्की, लालु माया अधिकारी, हरि केदार श्रेष्ठ, निर्मला अर्याल, मित्र प्रसाद अर्याल, मोनिका गुरुङ, डोलराज ढकाल, सुदिप बराल, त्रिभुवन आदर्श मा वि स्याङ्जाका नि वर्तमान प्रधानाध्यापक मुक्ति प्रसाद रेग्मी, दियालो आधारभुत विद्यालयका प्रधानाध्यापक हरिप्रसाद कोइराला लगायतका व्यक्तित्वहरु रहेका छन । उनीहरुलाई यहि असार १८ गते बसेको कार्यपालिकाको बैठकको सिफारिसका आधारमा १७ औ नगर सभाको निर्णय अनुसार सम्मान गरिएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए ।
शनिबार सम्पन्न नगर सभाको बैठकले नगर उपप्रमुख देवि अर्यालद्वारा प्रस्ताव गरिएको बजेट पारित गरेको छ । नगरले आर्थिक बर्ष २०८२र०८३ का लागि एक अरब ३ करोड ९६ हजारको बजेट सार्वजनिक गरेको हो । सार्वजनिक बजेटमा चालु तर्फ ६४ करोड ८ लाख र पुजीगततफृ ३९ करोड ८८ लाख विनियोजन गरिएको छ । बजेटमा पूर्वाधार बिकासतर्फ, आर्थिक बिकासतर्फ, सामाजिक विकासका क्षेत्र, संस्थागत क्षमता विकास तथा सेवा प्रवाह, बन वातावरण सरसफाई तथा विपद ब्यवस्थापनका क्षेत्रलाई समेटिएको छ । सो बैठकले विधायन समितिका सयोजक मुबारक मियाले प्रस्तुत गरेका विधेयकहरु पारित समेत गरेको छ । त्यस्तै बैठकमा सस्थागत सुशासन समितिका संयोजक सन्जिता नेपाल अर्यालले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
पुतलीबजार नगरपालिकाले नगरको बृहत्तर विकासको लागि नगर विज्ञ समिति गठन गरि नविनतम नीति र एजेन्डामा काम गर्दै आएको छ । विशेषगरि शैक्षिक, सामाजिक क्षेत्रका थुप्रै पद र ओहदामा रहेर अब्बल कार्यसम्पादन गर्दै आएका भरत प्रसाद लम्सालको नेतृत्वमा रहेको सो समितिले नगरको सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग व्यवसाय, रोजगारी प्रवर्द्धन लगायतका क्षेत्रमा नविनतम कार्यहरु गर्दै आएको छ । सो समितिका सदस्यहरुमा शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय ध्रुब बन्धु पौडेल, संचारकर्मी भवानी अधिकारी, उद्यमि व्यवसायी बोधराज अर्याल र सदस्य सचिवमा शैक्षिक तथा सामाजिक क्षेत्रमा अब्बल भुमिकामा रहेर कार्यसम्पादन गर्दै आएका मनोज मल्ल रहेका छन । त्यस्तै, सो समितिको कार्य सम्पादनमा नेपाली काङ्ग्रेस पुतलीबजार नगर सभापति सुरज कुमार अधिकारी, वडा न ३ का सचिव मोती प्रसाद मरासिनी, जनप्रतिनिधि सोम बहादुर कुवर लगायतको सक्रिय भुमिका रहेको छ ।










