स्याङ्जामा शारीरिक अपांगता पहिचान सहित स्वास्थ्य शिविर हुने

स्याङ्जामा शारीरिक अपांगता पहिचान सहित स्वास्थ्य शिविर हुने
२०८२ भदौ १५ गते आईतबार १०:१२

स्याङ्जा भदौ १५/ स्याङ्जामा एच आर डि सि बनेपा काभ्रेपलान्चोकको आयोजनामा शारीरिक अपांगता पहिचान सहित स्वास्थ्य शिविर हुने भएको छ । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका सहित ११ वटै स्थानिय तहहरुसङ्गको समन्वयमा १८ वर्षसम्मका...

स्याङ्जा भदौ १५/ स्याङ्जामा एच आर डि सि बनेपा काभ्रेपलान्चोकको आयोजनामा शारीरिक अपांगता पहिचान सहित स्वास्थ्य शिविर हुने भएको छ । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका सहित ११ वटै स्थानिय तहहरुसङ्गको समन्वयमा १८ वर्षसम्मका शारीरिक अपांगता भएका बालबालिकाहरुको अपांगता पहिचान, स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिविर हुन लागेको हो ।

पुतलीबजार नगरपालिकाको प्राङ्गणमा यहि भाद्र २१ गते हुने शिविरमा जन्मजात खुट्टाका पैतला भित्र फर्केका, आगोले पोलेर अंगहरु एकआपसमा टासिएको, भाँचिएर बांगो भएका, हड्डी नजोडिएको, खुट्टा लुलो र कमजोर भएको, ढाड बांगो वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पाङग्रो खुस्किएको, जोर्नीहरु दुख्ने र सुन्न्निने समस्या भएका ब्यक्तिहरु सहभागी हुन पाउनेछन् ।

हड्डी पाकेर पिप आइरहने, हड्डीमा टि।बि। रोग लागेको, औलांहरु एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका बिभिन्न जोर्नीहरु बाङगो र खुस्किएको, अन्य हाडजोर्नी सम्बन्धी समस्या भएका, सहायक सामाग्री तथा कृत्रिम अंगको आवश्यकता भएका र ओठ तथा तालु फाटेकाहरुका लागि पनि स्वास्थ्य शिविर मार्फत सेवा प्रदान गरिने भएको सहयोगी संस्था अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल, स्याङ्जाका अध्यक्ष युवराज पराजुलीले जानकारी दिए ।

शिविर पुतलीबजार नगरपालिकाको कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुने र शिविरमा डाक्टर, नर्स, फिजियो थेरापिष्ट, सहायता तथा सहयोगी सामाग्री निर्माण सम्बन्धी प्राबिधिक, स्वास्थ्य सम्बन्धी काउन्सिलर लगायतको सहभागीता रहने स्याङजा अपांग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेलको भनाई छ ।लक्ष्यित समूह सबैले शिविरमा सहभागी भइ आफ्नो स्वास्थ्य परिक्षण गर्नका लागि आयोजकको अपिल रहेको छ ।

प्रकाशित मिति २०८२ भदौ १५ गते आईतबार १०:१२
प्रतिक्रिया दिनुहोस्