स्याङ्जामा मनाइयो महिला मानव अधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस, एकीकृत प्रयासबाट महिला हिंसाको अन्त्य गर्नुपर्नेमा जोड

स्याङ्जामा मनाइयो महिला मानव अधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस, एकीकृत प्रयासबाट महिला हिंसाको अन्त्य गर्नुपर्नेमा जोड
२०८२ मङ्सिर १३ गते शुक्रबार १०:१७

अप्सरा राना स्याङ्जा मंसिर १२/ स्याङ्जामा महिला मानव अधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस मनाइएको छ । एकिकृत सेवा कार्यालय स्याङ्जाको आयोजना र महिलाको अधिकार, हकहितको क्षेत्रमा लागेका मानव अधिकार तथा शान्ति समाज स्याङ्जा, महिला...

अप्सरा राना स्याङ्जा मंसिर १२/ स्याङ्जामा महिला मानव अधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस मनाइएको छ । एकिकृत सेवा कार्यालय स्याङ्जाको आयोजना र महिलाको अधिकार, हकहितको क्षेत्रमा लागेका मानव अधिकार तथा शान्ति समाज स्याङ्जा, महिला मानव अधिकार रक्षकको सञ्जाल स्याङ्जा र एकद्धार संकट व्यवस्थापन केन्द्र स्याङ्जाको समन्वयमा शुक्रबार महिला मानव अधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस मनाइएको हो । दिवसका अवसरमा महिला अधिकार सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम र लैङ्गिक हिंसा विरुद्धको प्रतिबद्धता अभियानमा हस्ताक्षर कार्यक्रम समेत गरिएको एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिए । कार्यालय प्रमुख पौडेलका अनुसार सो कार्यक्रम लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा गरिएको हो ।

जिल्ला समन्वय समिती स्याङ्जाको सभाहलमा सम्पन्न कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले सबै जनाको एकिकृत प्रयासबाट नै लैङ्गिक हिंसा अन्त्य गर्नुपर्ने बताइन । उनले अझै पनि महिलाहरु राजनीतिक र आर्थिक अधिकारको लागि संघर्ष गरिरहनु परेको यथार्थ कोट्याउदै हरेक क्षेत्रको नेतृत्व गर्न महिलाहरु सक्षम रहेको दाबी गरिन।

सो कार्यक्रममा आँधीखोला गाउँपालिका उपाध्यक्ष सिता थापाले लैङ्गिक हिंसा अन्त्य गर्दै न्याय र समानतामा आधारित समाज स्थापनाको लागि महिलाहरु आत्मबल बलियो बनाएर लाग्नुपर्ने बताइन । सो क्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले महिला हिंसाका विभिन्न नयाँ रुपहरु देखा परेका सो मध्य प्रविधिको दुरुपयोगको असर महिलाहरुमा परेको हुदाँ सचेनता सँगै कानूनी उपचारबाट लैङ्गिक हिंसा अन्त्य गर्नुपर्ने बताए ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति सामाज स्याङ्जाका अध्यक्ष भवानी अधिकारी, महिला मानवअधिकार रक्षकहरुको सञ्जाल स्याङ्जाकी अध्यक्ष तिलकुमारी रेग्मी लगायतले महिला हित र सशक्तीकरणमा जोड दिन अझै पनि आवश्यक रहेको भन्दै आआफ्ना धारणा राखेका थिए ।

कोपिला नेपालकी कार्यकारी निर्देशक विना सिलवालले प्रशिक्षण दिएकी थिइन । सो क्रममा उनले अझै पनि हिंसामा परेका महिलाहरू समाजले के भन्ला भनेर आफ्ना पीडा लुकाउन बाध्य रहेको बताइन । महिला अधिकारका कुरा संविधान र कानुनमा मात्रै उल्लेख गरेर मात्रै नहुने भन्दै उनले महिला हिंसाको अन्त्य गर्दै राज्यले अधिकार स्थापित गर्नुपर्नेमा जोड दिइन ।

सो अवसरमा सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले स्याङ्जा जिल्ला भित्र हिंसा परेका महिलाहरुको उद्धार र सहायताको लागि कार्यालयले अल्पकालिन आश्रय स्थल बनाएको र त्यहाँबाट उनीहरुलाई कानूनी सहायता र बसाइको व्यवस्थापन गरिएको बताए । उनले गण्डकी प्रदेश सरकारले दिर्घकालिन पुनर्स्थापना केन्द्रबाट हिंसामा परेका महिलाहरुलाई सक्षमता बनाएर समाजमा सहज वातावरणबाट बाँच्न सक्ने कदम अगाडी बढेको समेत बताए ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुतपूर्व सैनिक आवासीय माध्यमिक विद्यालयकी छात्रा कञ्चन थापाले स्वागत नृत्यद्वारा स्वागत एवम् कार्यालयका सहायक प्रशासकिय अधिकृत द्रोण प्रसाद पनेरुले सञ्चालन गरेका थिए । गत वर्षबाट यस दिवस स्याङ्जामा मनाउन सुरु भएको एकिकृत सेवा कार्यालयले जनाएको छ । प्रत्येक वर्ष नोभेम्बर २९ तारिखका दिनमा महिला मानव अधिकार रक्षकको अन्तराष्ट्रिय दिवस मनाइन्छ ।

प्रकाशित मिति २०८२ मङ्सिर १३ गते शुक्रबार १०:१७
प्रतिक्रिया दिनुहोस्