स्याङ्जा पुस ६, पवन मरासिनी/ खुमा अर्याल फाउन्डेसन स्याङ्जा र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना एवम् गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा
शनिबार विशेषज्ञ सहितको बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । अर्जुनचौपारी गाउँपालिका १ स्थित अर्जुनचौपारी गाउँपालिका गाउँकार्यपालिकामा भएको सो शिविरमा ६ सय ३१ जना स्थानियले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । यिमध्ये १ सय २० जना बिरामीहरुलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ । रिफर गरिएका बिरामीहरुको गण्डकी मेडिकल कलेजमा औषधिमा ५ प्रतिशत र उपचारमा २० प्रतिशत छुट दिइने जनाइएको छ ।
शिविरमा हाडजोर्नी तथा नशा रोग परिक्षण, मुटु रोग परिक्षण, आँखा, नाक, कान तथा घाँटी रोग परिक्षण, स्त्री तथा प्रसुती रोग परिक्षण, रेडियोलोजी सेवा, बाल रोग परिक्षण, दन्तरोग परिक्षण, छाला रोग परिक्षण सेवा उपलब्ध रहेको थियो । सो शिविरमा विशेषज्ञ डाक्टरहरु कृष्ण विष्ट, चन्द्र बहादुर पुन, बृहस्पति सिग्देल, अपार अधिकारी, बिनिता शर्मा, स्मारिका आचार्य, बृज कुमार यादव, सान्त्वना पराजुली, अर्जुनकुमार खत्री सहितका अन्य डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा १ सय ९० जनाले आँखा, नाक, कान, घाँटी रोग र १ सय ९० जनाले नै हाडजोर्नी तथा नशा रोग परिक्षण, ४६ जनाले स्त्री तथा प्रसुती रोगको परिक्षण, १ सय २६ जनाले रेडियोलोजी सेवा, ३८ जनाले दन्तरोग, ५५ जनाले मुटु रोग, ३२ जनाले बाल रोग, ३५ जनाले छाला रोग परिक्षण गराएका थिए भने १ सय २२ जनाले जनरल मेडिसिन तथा ११५ जनाले इ सि जि सेवा र ९० जनाले इको सेवा लिएका थिए ।
कार्यक्रममा बोल्दै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले दुरदराजको पालिका अर्जुनचौपारीमा आएर यो किसिमको सेवा उपलब्ध गराएकोमा खुमा अर्याल फाउन्डेसनलाई धन्यवाद दिए । उनले निकट भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताउदै खेलकुदमा पनि फाउन्डेसनसंग सहकार्य गरेर अघि बढ्ने इच्छा रहेको आशय व्यक्त गरे ।
सो अवसरमा उपाध्यक्ष सपना गुरुङ, वरिष्ठ उद्यमी तथा समाजसेवी खुमा प्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले कार्यक्रमको समापन गर्दै सबैको साथ र सहयोगले गर्दा नै शिविर गुणस्तरीय सेवा सहित सम्पन्न भएको बताए । उनले सबैको सद्भावले गर्दा नै छोटो समयावधिको तयारीमा समेत महत्वपुर्ण उपलब्धी हासिल गर्न सफल भएको बताए । यस्तै, संस्थापक परिवार सदस्य डा लुना अर्यालले शिविरमा उपलब्ध सेवाहरुको बारेमा जानकारी गराएकी थिइन ।
सो क्रममा फाउन्डेसन र गाउँपालिकाको तर्फबाट गण्डकी मेडिकल कलेजलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । यस्तै, फाउन्डेसनद्वारा गाउँपालिका र गाउँपालिकाद्वारा फाउन्डेसनलाई सम्मानपत्रले सम्मान समेत गरिएको थियो भने गण्डकी मेडिकल कलेज पोखराको टिमलाई प्रसंशापत्र प्रदान गरिएको थियो ।
फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका १ का वडा अध्यक्ष रण बहादुर थापाले स्वागत एवम् सचिव ध्रुव शर्माले संचालन गरेका थिए ।










