पोखरा । एलपी ग्यास लुकाएर कृत्रीम अभाव गर्ने गरी सिलिण्डरबाट ग्यास सारिरहेको अवस्थामा पोखराको एक डिलरलाई ५० हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको अनुगमनका क्रममा पोखरा ६ जरेबरस्थित भण्डारी ट्रेडर्सलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
अनुगमनका क्रममा भण्डारी ट्रेडर्सले १४.२ केजी तौलका ४८ थान ग्यास सिलिन्डर लुकाएर राखेको भेटिएको हो । डिलरले एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित रंगेहात फेला पारिएको थियो ।प्रशासनले भण्डारी ट्रेडर्समा फेला परेका १४.२ केजीका ४८ थान र ७.१ केजीका ३८ थान ग्यास सिलिन्डर पहिले आउने उपभोक्तालाई पहिले सेवाको आधारमा बिक्री वितरण गर्न पनि निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले पोखराका विभिन्न ५ वटा ग्यास डिलरहरूमा अनुगमन गरेको थियो । जसमध्ये ३ वटा ग्यास डिलरहरुमा ग्यासको मौज्दात र अनुचित भण्डारण नपाइएको प्रशासनले जनाएको छ ।
त्यस्तै, अर्को एउटा डिलरमा ७.१ केजीका ३ सय २४ थान ग्यास सिलिन्डर गाडीबाट झार्दै गरेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो । कास्की प्रशासनले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन र कालोबजारी रोक्न अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।










