काठमाडौं : नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कमिटीको चाैथो तथा अन्तिम बैठकले आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
महाधिवेशन आयोजक कमिटी भंग भएपछि अब पार्टीमा पुरानै संरचना क्रियाशील हुनेछ। पार्टीमा माधव नेपाल समूहलाई गरिएको कारवाही स्वत: फुकुवा भएको उनले बताए। चैत ७ गते बसेको केन्द्रीय कमिटीको बैठकले १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी रुपान्तरित गर्ने निर्णय गरेको थियो।
पार्टी एकतालाई आजको बैठकले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ। बैठकले रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी,मणि थापा , रघुवीर महासेठ, रघुजी पन्त, बिष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा राख्ने निर्णय गरेको ज्ञवालीले बताए। उनीहरु नेकपामा स्थायी कमिटीमा थिए।
आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछिको पहिलो बैठक १८ गते शुक्रबार ११ बजे बस्ने निर्णय भएको छ। कोरोना नियन्त्रण गर्न सरकारले गरेको पहलको उच्च प्रशंसा गर्दै सबैलाई खोप दिलाउन अनुरोध समेत गरेको छ। बाढी पहिरोको उद्दार र राहतमा सरकारले खेलेको भुमिकाको प्रशंसा गर्दै थप प्रभावकारी भुमिका खेल्न अनुरोध गरेको छ।
यस्तै बैठकले बरिष्ठ नेता झलनाथ खनालको शिघ्र स्वास्थ लाभको कामना गर्दै उपचार खर्च सरकारले जिम्मा लिएकोमा धन्यवाद दिने निर्णय पनि बैठकले गरेको छ।










