छानविन समितिले क्रियाशील सदस्यबारे बनाएको मापदण्डको ड्राफ्ट यसअघिको पदाधिकारी बैठकमा पेश गरेको थियो । तर पदाधिकारी बैठकमै सहमति नजुट्दा समितिले काम अगाडि बढाउन सकेको छैन । बिहीबार बस्ने पदाधिकारी बैठकले सदस्यता छानविन बारे मापदण्ड बनाउने बताइएको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
यसैबीच बिहीबार बोलाइएको पदाधिकारी बैठकमा आफ्ना तर्फबाट साझा धारणा तय गर्न बुधबार बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसेको छ । महामन्त्री शशांक निवास महाराजगञ्जमा बसेको बैठकमा क्रियाशील सदस्यका बारेमा छलफल भएको एक नेताले बताए ।
ती नेताका अनुसार पार्टी समायोजनका नाममा प्रक्रियाविपरीत क्रियाशील सदस्यता वितरण भएकाले त्यसको निष्पक्ष छानविन हुनुपर्ने धारणा बैठकमा नेताहरुले राखेका छन् । साथै निश्चित मापदण्ड बनाएर मात्रै क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्नेमा उनीहरुको जोड छ ।










