पोखरा, साउन १/ नेपालमा आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्स प्रालिले पोखरामा आफ्नो नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम कार्कीले बिहीबार आयोजित एक समारोहबीच आउटलेटको उद्घाटन गरेका हुन्। नयाँ आउटलेटमार्फत ग्राहकले एउटै छानामुनि तीन विश्वप्रसिद्ध विद्युतीय सवारी ब्रान्डका अत्याधुनिक मोडेल अवलोकन गर्न, व्यक्तिगत परामर्श लिन, टेस्ट ड्राइभ गर्न तथा बिक्रीपछिको सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गुणस्तरीय सेवा र दीर्घकालीन ग्राहक सम्बन्धलाई प्राथमिकतामा राख्दै उपत्यकाबाहिर विद्युतीय सवारीको पहुँच विस्तार गरेकोमा सीजी मोटर्सको प्रशंसा गरे। उनले स्वच्छ ऊर्जा र वातावरणमैत्री यातायात प्रवद्र्धनमा निजी क्षेत्रको यस्तो पहल महत्त्वपूर्ण रहेको बताए।कम्पनीका सहायक महाप्रबन्धक कञ्चन शिलवालले पोखरामा नयाँ आउटलेट सञ्चालनसँगै उपत्यकाबाहिर आधुनिक विद्युतीय सवारीको पहुँच विस्तार गर्ने कम्पनीको अभियानले थप गति लिएको बताए । उनले नेपालमा स्मार्ट, दिगो र प्रभावकारी मोबिलिटी समाधान प्रवद्र्धन गर्ने लक्ष्यलाई बल पुग्ने विश्वास कम्पनीको भएको उल्लेख गरे ।
कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाले उपत्यकाबाहिर विद्युतीय सवारीको बजार विस्तारमा सीजी मोटर्सले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।कार्यक्रममा बोल्दै सिजिको गण्डकी प्रदेशका प्रमुख गोबिन्द ओलिले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवद्र्धन गर्ने लक्ष्यअनुसार सेवा सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै पोखरामा सञ्चालनमा आएको यो मल्टि–ब्राण्ड आउटलेटले गण्डकी प्रदेशका ग्राहकलाई अझ सहज, विश्वसनीय र स्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । ओलिले पोखरा पर्यटन तथा विद्युतीय सवारीसाधनको बढ्दो बजार भएकाले यहाँ आयोन, एक्सपेङ र डायुन ब्राण्डका विद्युतीय सवारीसाधनलाई एउटै छानामुनि उपलब्ध गराइएको जानकारी दिए ।
कम्पनीले देशभर फैलिएको २६० भन्दा बढी चार्जिङ स्टेसनको सञ्जालमार्फत ग्राहकलाई सहज, पहुँचयोग्य र भरपर्दो चार्जिङ सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। यही पूर्वाधारका कारण सीजी मोटर्स नेपालका विश्वसनीय विद्युतीय सवारी प्रदायकमध्ये अग्रणी कम्पनीका रूपमा स्थापित भएको छ ।








oplus_0


























