पोखरा साउन ९/ नेकपा एमाले पोखरा महानगरपालिका–२१ का अध्यक्ष राजेन्द्र बहादुर थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत डा। गोविन्द केसीको पछिल्लो अनशनप्रति असहमति जनाउँदै यसलाई समाधानको माध्यम नभई समस्या लम्ब्याउने अभ्यास भएको टिप्पणी गरेका छन्।थापाले गेटा मेडिकल कलेजजस्तो राष्ट्रिय महत्वको परियोजनाको भविष्य अन्योलमा पर्न नहुने उल्लेख गर्दै नेपालमै गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार अपरिहार्य रहेको बताएका छन्। उनले सुधारको नाममा चिकित्सा शिक्षाको विकास अवरुद्ध हुने, गेटाजस्ता संस्थाको भविष्य अन्योलमा पर्ने र विद्यार्थी विदेशिन बाध्य हुने अवस्था सिर्जना हुनु देशको हितमा नरहेको धारणा व्यक्त गरेका छन्।
आफू मेडिसिन क्षेत्रको विद्यार्थीसमेत रहेको उल्लेख गर्दै थापाले चिकित्सा शिक्षामा सुधार, पारदर्शिता र गुणस्तर आवश्यक भए पनि त्यसका लागि बारम्बारको अनशन उपयुक्त माध्यम नभएको बताएका छन्। ूडा। गोविन्द केसीको अनशनको बाटो हिजो पनि सही थिएन, आज पनि सही छैन, भन्दै उनले लोकतान्त्रिक व्यवस्थामा समाधान संवाद, तथ्य र नीतिगत निर्णयबाट खोजिनुपर्नेमा जोड दिएका छन्।थापाले हिजो डा। केसीको समर्थन गर्दै राजनीतिक उचाइ हासिल गरेका असिम पोखरेल, तोसिमा कार्की, पुकार बम, राजीव खत्रीलगायत व्यक्तिहरू अहिले मौन रहेको भन्दै उनीहरूले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। यदि विगतको समर्थन राजनीतिक लाभका लागि मात्र भएको हो भने आत्मआलोचना गर्नुपर्ने समय आएको उनको भनाइ छ।
त्यसैगरी सांसदलाई सक्षम विज्ञ वा पीए राख्ने विषयलाई विगतमा अनावश्यक रूपमा विवाद बनाइएको उल्लेख गर्दै उनले प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न योग्य सहयोगी आवश्यक हुने तर्क राखेका छन्। दोहोरो मापदण्डले राजनीति चल्न सक्ने भए पनि राष्ट्र निर्माण हुन नसक्ने उनको टिप्पणी छ।अन्त्यमा थापाले गेटा मेडिकल कलेज पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने, नेपालमै गुणस्तरीय चिकित्सा शिक्षा विस्तार गरिनुपर्ने र विद्यार्थी विदेशिन बाध्य हुने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिँदै राष्ट्रहितलाई व्यक्तिगत अभियानभन्दा माथि राख्न सबै पक्षलाई आग्रह गरेका छन्।










